
धनकुटा : तमोर नदीको पानी लिफ्टिङ गरी ताँखुवा, तेलिया र परेवादिनमा पुर्याउन धमाधम काम भइरहेको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको वडा नं ३, ४ र ५ मा खानेपानी आपूर्ति गर्ने उद्देश्यले जोरपाटी बृहत खानेपानी आयोजनाको काम भइरहेको हो ।
हालसम्म ७० किलोमिटर पाइप लाइन विस्तार, खानेपानी कार्यालय, नौवटा खानेपानी ट्याङ्की र चार वटा सुरक्षा भवनको काम सकिएको आयोजनाका अध्यक्ष विष्णु भुजेलले जानकारी दिनुभयो ।
सङ्घीय सरकारको १६ करोड २३ लाखको लागतमा तमोर नदीबाट १४ किलोमिटरको दुरीमा रहेको बस्तीमा खानेपानी लिफ्टिङ गर्न पूर्वाधार निर्माणको काम भइरहेको हो । अध्यक्ष भुजेलका अनुसार खानेपानी आयोजना सम्पन्न भएपछि ताँखुवा, तेलिया र परेवादिनका एक हजार दुई सय ९५ घरपरिवार लाभान्वित हुनेछन् । आयोजनाबाट सबैभन्दा धेरै गाउँवासीलाई फाइदा पुग्नेछ ।
खानेपानीको अभावका कारण यी बस्तीहरुबाट बर्षेनी तराईका जिल्लाहरुमा बसाइँसराइ जाने क्रम बढ्दो छ । आयोजना सम्पन्न भएपछि बसाइँ सर्ने क्रम रोकिने अपेक्षा गरिएको वडा ४ का सचिव शङ्कर ओझाले बताउनुभयो ।
हाल सम्म ४० प्रतिशत आयोजनाको काम पूरा भएको एसएल सिद्धकाली जेभीका सञ्चालक गुणराज अधिकारीले जानकारी दिनुभयो । दुई वर्षमा आयोजना सम्पन्न गर्ने गरी २०७९ माघमा झापाको एसएल सिद्धकाली जेभीले निर्माणको ठेक्का पाएको थियो। समयमा बजेट उपलब्ध भए आउँदो असार मसान्तसम्म काम सकेर साउन–भदौ देखि खानेपानीको परीक्षण शुरु गर्ने उहाँले बताउनुभयो ।


494 पटक हेरिएको 

