खानेपानी योजनाले फर्कायो यांग्री गाउँको खुसी

  वास खबर सम्वाददाता  490 पटक हेरिएको

सिन्धुपाल्चोक : खानेपानीकै लागि खोलामै जान हानथाप । अझ बर्खायाममा खोलामा बाढी आएर धमिलो पानी बगेपछि पानी खोज्न अर्को गाउँ भौतारिनुपर्थ्यो । यांग्री र लार्के खोलाको पानी सिधै पिउँदा हैजा, झाडापखाला र छाला सम्बन्धी रोगले कतिपय बिरामी पर्थे ।

भूकम्पपछि त झनै खोलासम्म जाने बाटो समेत ध्वस्त भयो । जिल्लाको दुर्गम भेग पाँचपोखरी थाङपाल गाउँपालिका–२ स्थित यांग्री र लार्के नदीको तटभेगमा रहेको यांग्रीका बासिन्दाले खानेपानीको अभावमा व्यहोर्नु परेका दुःख हुन् यी ।

यांग्री पल्लो छेउकी ४८ वर्षीया सुकुमाया बिक अहिले हर्षित हुनुहुन्छ । उहाँको आँगनमै बनेको व्यवस्थित धारामा खानेपानी आइपुगेको छ । ‘त्यतिबेला जे भयो भयो, अब सुर्ता छैन । पहिलेजस्तो पानीकै लागि गाउँगाउँ दौड्नुपर्दैन, खेतबारीमा चाहेजस्तै गरी तरकारी लगाउन सक्छु,’ विकले भन्नुभयो । वर्षौदेखि पानी अभावको मार झेलिरहेकी उहाँले पानीले सिंगो गाउँका बासिन्दाको अनुहार उज्यालो बनाएको सुनाउनुभयो।

वर्षौपछि सफा पानी पाएपछि खुसी फर्किएको अनुभव गरेकी यांग्रीकी ३७ वर्षीया रिना स्याङ्बो दंग हुनुहुन्छ। वर्षौअघि गाउँको शीरमा एउटा पुरानो धारा थियो । त्यसबाट पानी आउन बन्द भएपछि स्थानीय खोलामा पानी लिन जान बाध्य भएको उहाँले बताउनुभयो। ‘खोलामा पानीसँगै बालुवा आउँथ्यो, नउमाली खानै मिल्दैनथ्यो । पानीकै कारण धेरै समस्या व्यर्होनुपर्थ्यो, कति पटक त बिरामी पर्यौं,’ स्याङ्बोले भन्नुभयो ‘अब भने घरमै पानी आएपछि आनन्द लागेको छ ।’

प्रसिद्ध धार्मिकस्थल आमायांग्रीबाट झरेको यांग्री र पाँचपोखरीबाट आएको लार्के खोलाको तटभेगमा रहेको यो गाउँ कच्ची सडक र झोलंगे पुलले जोडेको छ । जनहित नेपालका कार्यकारी निर्देशक राजेन्द्र शर्माका अनुसार इटालियन संस्था एसियाको सहयोगमा ३८ लाख बजेटमा एक विद्यालय सहित ४७ घरधुरीमा एक घर/एक धारा बनाइएको छ ।

माथिल्लो भीरपहरामा रहेको मुहानबाट पानी ल्याइ १८ हजार घनमिटर क्षमताको ट्यांकीमा पानी जम्मा गरेर प्रत्येक घरका लागि पानी वितरण गरिएको शर्माले बताउनुभयो । भाद्र महिनाबाट सुरु गरिएको योजनाले तीन सय जनसंख्या लाभान्वित भएका छन् ।

धारा र खानेपानीको निरीक्षणमा पुगेका जनहित नेपाल र इटालियन संस्थालाई स्थानीयले सम्मान गरेको खबर कान्तिपुर दैनिकले प्रकाशन गरेको छ। खानेपानी योजनाका अध्यक्ष समेत रहेका स्थानीय बाबुराम स्याङ्बोले खानेपानीको सुरक्षा, सरसफाइ र खानेपानीको पाइप मर्मत सम्भार गर्ने तरिका बारे पनि सिकेको बताउनुभयो । दुई खोलाको कटान र माथिल्लो भेगबाट पहिरोको सामाना गरिरहेका स्थानीय अहिले करेसाबारीमा तरकारी लगाउन जुटेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार