
काठमाडौ : दियालो टेक्नोलोजिज प्रा.लि. र जापानको सीटीआइ इन्जिनियरिङ कम्पनी लिमिटेड बीच खानेपानीको क्षेत्रमा प्रविधि आदान प्रदान गर्ने सम्झौता भएको छ। दियालो टेक्नोलोजिजको तर्फबाट प्रमुख सञ्चालन अधिकृत सरस्वती पोखरेल र सिटिआइ कम्पनीको तर्फबाट प्रोजेक्ट म्यानेजर यासुको कामेगाइले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो।
दियालो टेक्नोलोजिज खानेपानीको क्षेत्रमा विभिन्न प्रविधि भित्र्याएर अत्याधुनिक सेवा दिँदै आएको कम्पनी हो । सम्झौता सँगै दुबै कम्पनीले खानेपानी क्षेत्रको अटोमेसन, खानेपानी समितिहरुको क्षमता विकासको लागि सहकार्य गर्नेछ।
यस सहकार्यले स्मार्ट मिटारिंग सहितको प्रबिधि प्रयोगले पानीको उत्पादन र वितरण प्रणालीको अटोमेसन र डिजिटलाइजेसनमा ठूलो सघाउ पुग्ने कम्पनीले जनाएको छ । यस साझेदारीले सबैको लागि सुरक्षित पानीको पहुँच, खानेपानीको क्षेत्रमा रहेका चुनौती समाधान गर्न प्रविधिको प्रयोग, प्रविधि निर्माणमा सहकार्य लगायतका कामहरु गरिनेछ ।
दियालो टेक्नोलोजिज कम्पनीको देशभर ८ सय भन्दा बढी संस्थाहरु ग्राहक छन् । सीटीआइ इन्जिनियरिङ इन्टरनेशनल कम्पनी लिमिटेड दिगो शहरी पूर्वाधार तथा खानेपानीको क्षेत्रमा प्रविधिको माध्यमबाट सेवा दिँदै आएको जापानको एक कम्पनी हो।


657 पटक हेरिएको 

