महाभारतमा खानेपानी पुर्‍याउन झनै महाभारत, सात वर्षपछि बल्ल उक्लियो

  वास खबर सम्बादाता  724 पटक हेरिएको

धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिका -७ माखावा महाभारतमा बल्लतल्ल खानेपानी पुर्‍याईएको छ । निर्माण सुरु भएको झण्डै ७ वर्षपछि माखावा लिफ्टिङ खानेपानी योजनाबाट गाउँमा खानेपानी पुर्‍याउन सफल भएको हो । माखावा खोलादेखि १३ सय ८९ मिटरको उचाइमा रहेको पोखरी डाँडामा खानेपानी लिफ्टिङ गरी खानेपानी वितरण गर्न थालिएको छ ।

खोलाबाट दुई चरणमा लिफ्ट गरी ६ सय ३९ मिटर उचाइको एप्मालामा ५० हजार लिटर क्षमताको ट्यांकीमा पानी जम्मा गरिएको माखावा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका सचिव ओमप्रकाश राईले बताउनुभयो । त्यहाँदेखि ५ सय ५० मिटर उचाइमा रहेको पोखरी डाँडाको करिब ५० हजार लिटर ट्यांकीमा झारिएको उहाँले बताउनुभयो । खानेपानी योजनाबाट साविक महाभारत गाउँ विकास समितिका वडा नम्बर १, २, ३ र ४ वडाका २ सय ५० भन्दा बढी घरधुरी लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष धर्मध्वज राईले बताउनुभयो ।

खानेपानी योजनाले गोलखाडी, होङ्गकुटोल, लेक सिरान, खोंकीजाली, खाक्चीराङ, डढुवा, छिनामचोक, वैंका, गैरीटोल, खोलिम्फू, आसकोट गरी ११ वटा टोल समेटिनेछन्। खानेपानी अभावकै कारण बसाई सर्नुपर्ने अवस्था समेत आएको थियो। अब त्यो समस्या हट्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार पोखरीडाँडामा संकलन गरिएको पानीलाई ६ स्थानमा ट्याङ्‍की निर्माण गरी वितरण गरिनेछ। उपभोक्ताको घरसम्म पाइप बिछ्याउने काम सुरु गरिएको छ।

साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले निर्माण सुरु भएको लामो समय बित्दा पनि खानेपानी योजना सम्पन्न नहुँदा यहाँका स्थानीय बासिन्दा निराश भएको बताउनुभयो। गाउँपालिकाको स्काइभेटरको सहयोगमा गोलखाडीदेखि खानेपानीको मुहानसम्म करिब डेढ किलोमिटर सडक सरसफाइ तथा ट्याक खोल्ने काम गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाकै सवारी साधनबाट ट्रान्समिटर र पाइप ढुवानी समेत गरिएको उहाँको भनाइ छ ।

साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटाका प्रमुख मण्डल, माखावा खानेपानी योजनाका अध्यक्ष, पदाधिकारी, जनप्रतिनिधि तथा उपभोक्ताहरूको एक टोलीले स्थलगत निरीक्षण समेत गरेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार