पम्प जलेपछि कुम्मायकका २२ सय घरपरिवार खानेपानी अभाव झेल्दै

  वास खबर सम्वाददाता  279 पटक हेरिएको

पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिकामा सञ्चालित यासोक सुख्खाक्षेत्र तमोर पम्पिङ खानेपानी आयोजनाको पम्प जलेपछि खानेपानीको हाहार भएको छ ।कुम्मायक-५ स्थित लुम्वुघाटको इनारका दुई वटै पम्प जलेपछि खानेपानीको संकट भएको भएको यासोक सुख्खाक्षेत्र तमोर पम्पिङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष मेघराज निरौलाले बताउनुभयो ।

उहाँका अनुसार तमोर नदिले धार परिवर्तन गरेपछि इनारमा पानीको सतह घटेर पम्पले बालुवा र पानी एकै साथ तानेपछि पम्प जलेको हो। पम्प जलेपछि कुम्मायकको चार ओटा वडाका २२ सय घरधुरीले खानेपानीको अभाव झेलिरहेका छन् ।

११ मिटर गहिरो इनारमा पानीको सतह डेढमिटर मात्रै भएपछि पम्पमा क्षति पुगेको उपभोक्ता समितिका सचिव जकेन्द्र लावतीले बताउनुभयो। तत्काल समस्या समाधानको लागि पम्प खरिद र छुट्टै इनार निर्माण गर्न संघीय खानेपानी ढल व्यवस्थापन आयोजना इलाम समक्ष माग गर्ने उहाँले बताउनुभयो । अहिले खानेपानीको इनारमा देखिएको यो समस्या गम्भिर हो सचिव लावतीले भन्नुभयो ‘उपभोक्ता समितिसँग आन्तरिक श्रोत नभएकाले तत्काल पम्प खरिदको लागि संघीय खानेपानी कार्यालय इलामसंग माग गर्ने निर्णय भएको छ।’

खानेपानीको तत्कालको समस्या हल गर्न कुम्मायक गाउँपालिकाका उपाध्यक्ष महेन्द्र बहादुर खड्का, कुम्मायक–१ का वडाअध्यक्ष देबेन्द्रकुमार लावती, ४ का वडाअध्यक्ष फगेन्द्रकुमार सम्बाहाम्फे, ५ का वडाअध्यक्ष निर्मलराज घिमिरे र इलाका प्रहरी कार्यालय यासोकका बरिष्ठ सई सन्तोष गौतम लगायतको टोलीलेअनुगमन गरी इनार भित्रको बालुवा हटाउने र नदिको सतहलाई इनार तर्फ फर्काउने निष्कर्ष निकालेको छ । गाउँपालिकाका प्रवक्ता देबेन्द्रकुमार लावतीका अनुसार खानेपानीमा देखिएको समस्या हल गर्न समय लाग्ने भएकाले सम्बन्धित कार्यालयमा सहयोगको लागि अनुरोध गरिएको छ ।

खानेपानीका मुहान सुक्दै गएपछि साबिक यासोक, स्यावरुम्बा र रानीगाउँ गाविसका लागि आर्थिक वर्ष २०७२/७३ देखि बृहत् पम्पिङ खानेपानी आयोजना निर्माण शुरु भएको थियो । ती गाविसलाई सरकारले २०६८ सालमै सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । ५१ करोड ३० लाख २० हजार रुपैयाँको लागतमा निर्माण भएको आयोजनाबाट १३ हजार २६६ जनाले खानेपानी उपभोग गर्दै आएका थिए ।

यासोक सुक्खा क्षेत्र तमोर पम्पिङ खानेपानी आयोजनाको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल फागुन ११ गते उद्घाटन गर्नु भएको थियो।

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार