ज्वालामूखी खानेपानी बोर्डद्वारा तीन वटा खानेपानी सम्पन्नको चरणमा, ६ वटा निर्माणको तयारी

  वास खबर सम्वाददाता  555 पटक हेरिएको

धादिङ : ज्वालामूखी ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्डद्वारा निर्माणाधीन तीन वटा खानेपानी तथा सरसफाइ योजना सम्पन्न हुने चरणमा पुगेको छ। गाउँपालिकाको वडा नं. ५ मा हटिया खानेपानी तथा सरसफाइ आयोजना, वडा नं ३ मा पुजारी गाउँ वराइटोल खानेपानी तथा सरसफाइ आयोजना र वडा नं २ मा वतासे खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न हुने चरणमा पुगेको बोर्डका प्रबन्धक सबिना रेग्मी छत्कुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यी आयोजनाहरु सम्पन्न भएपछि थप २ सय ५९ घरमा एक घर एक धाराको पहुँच पुग्नेछ ।

गाउँपालिका मातहतमा बोर्ड गठन भएपछि खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी योजनाले प्राथमिकता पाएको र बोर्डले गाउँपालिकाका सबै घरधुरीमा घरघरै धारा पुर्‍याउने हेतुले काम भैरहेको उहाँले बताउनुभयो । यसका लागि ६ वटा खानेपानी आयोजनाहरु निर्माणको तयारीमा छन् ।


बोर्डका अनुसार गाउँपालिकामा २ हजार १०३ घरधुरीमा एक घर एक धारा पुर्‍याउन बाँकी छ । प्राथमिकताको आधारमा क्रमशः सवै घरधुरीमा समान रुपले खानेपानीको सहज पहुँच पुर्‍याउन बोर्डले योजनाबद्ध तरिकाले काम गरिरहेको प्रबन्धक छत्कुलीले जानकारी गराउनुभयो

स्वच्छता व्यवहार सुधार पनि सँगसँगै

बोर्डले समुदायमा खानेपानी सेवा संगै सरसफाइ स्वच्छता अन्तर्गत सकारात्मक व्यवहार सुधारका कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको छ। वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति, टोल विकास संस्था, स्वास्थ्य संस्था, आमा समूह, महिला स्वास्थ्य स्वयं सेविका, वडा स्वास्थ्य सहजकर्ताहरु, विद्यालय स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति, वाल क्लव, युवा क्लव र विकास साझेदार संस्थाहरुको सहयोग सहकार्य र समन्वयमा बोर्डले सफा तथा स्वच्छ गाउँ अभियान सञ्चालन गरिरहेको छ ।


यस अभियानमा सरसफाइका व्यवहारहरु पूरा गर्नको लागि टोल टोल र घर घरमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिन्छ ।

प्रबन्धक छत्कुली भन्नुहुन्छ ‘जस्तै जोखिमपूर्ण अवश्थामा सावुन पानीले हात धुनुपर्ने अभ्यास,घरेलु स्तरमा पानी सुद्धिकरणका उपायहरु, महिनावारी स्वच्छता, फोहोरमैला व्यवस्थापन, चर्पीको समुचित प्रयोग, सुरक्षित र स्वच्छ भान्छा घर, घरआँगनको सरसफाइ, सार्वजनिक स्थलहरुमा नियमित सरसरफाइ शिविर सञ्चालन लगात गतिविधिहरु यस अभियान अन्तर्गत सञ्चालन भैरहेको छन्।’

ज्वालामूखी गाउँपालिकाले वास प्लान निर्माण गरी खानेपानी र सरसफाइको लक्ष्य निर्धारण गरेको छ । गाउँपालिकाले वि.सं. २०८२ भित्रमा एक घर एक मिटर सहितको धारा निर्माण गरी सुरक्षित खानेपानी उपलव्ध गराउने र पूर्ण सरसफाइको दोस्रो चरण ‘सफा तथा स्वच्छ गाउँ घोषणा’ गर्ने जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार