मकवानपुर : खानेपानीको लागि घैंटामा भरपर्नु पर्ने मकवानपुरको थाहा नगरपालिका १२ सलमपुरका बासिन्दाको खानेपानीको दुःख हटेको छ। नगरपालिकाले च्वाइस नेपाल सँगको सहकार्यमा एक घर एक धारा निर्माण गरे पछि सलमपुरका बासिन्दाको अवस्था बदलिएको हो।
गाउँमा एक घर एक धारा’ निर्माणपछि घैंटामा भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको छ। बर्षातको जम्मा गरेको पानीबाट प्यास मेटाउदै आएका गाउँलेले घैंटो रित्तिएपछि धादिङको सातघुम्तिको तल्लो मोड नजिकको पानी पिउँदै आएका थिए । सलमपुरमा मानव बस्ती बसालेको ६ पुस्ता पछि बल्ल पहिलो पटक खानेपानी धाराबाट पानी प्रयोग गर्न पाएको ७६ बर्षिय भुजराम थिङले बताउनुभयो।
६ पुस्तादेखि झेल्दै आएको खानेपानीको समस्या अहिले आएर समाधान भएपछि हर्षित भएका छन् ७० बर्षका टिकाराम थिङ,एक गाग्री पानी लिनलाई पाँच घण्टा धाउनुपर्ने बाध्यताको अन्त्य भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष टिकाराम थिङले बताउनुभयो।
यसअघि प्लान नेपालले निर्माण गरिदिएको आकाशेपानी संकलन गर्दै २ हजार लिटरको सिमेन्टको घैंटामा जम्मा पारेको पानी सिंगो गाउँवासीले प्रयोग गर्दै आएका थिए। धेरै निकायसँग माग गर्दा खानेपानी योजना नपाएको गुनासो गर्दै आएका स्थानीयले थाहा नगरपालिका र च्वाइस नेपाल सँगको सहकार्यमा यस वर्ष बल्ल धाराबाट खानेपानी उपभोग गर्न पाएका हुन्।
नगरपालिका र संस्थाको सहयोगबाट स्थानीयले ८ महिनामा खानेपानी योजना सम्पन्न गरेर धारामा पानी खसालेका हुन् । गाउँमा जम्मा २० घरधुरी छन्।
१२ न. वडाका अध्यक्ष टिकाराम स्याङ्तानले गाउँवासीको वर्षौं पुरानो माग अहिले आएर पूरा भएको बताउनुभयो । खानेपानी योजना सम्पन्न गर्न ३६ लाख ४२ हजार बजेट लगानी गरिएको छ। जसमध्ये थाहा नगरपालिका बाट १५ लाख ४५ हजार,च्वाइस नेपाल बाट १३ लाख र ७ लाख ९५ हजार रुपैयाँ बराबरको श्रमदान गरिएको छ।
खानेपानी योजना अन्तर्गत १७ वटा धारा, एउटा रिजर्भर ट्यांकी निर्माण गरिएको छ भने तीन किलोमिटर तलको मुहानबाट लिफ्टिङ गरी पानीको व्यवस्था गरिएको च्वाइस नेपालका प्राविधिक सुवास मरहठ्ठाले जानकारी दिनुभयो।
थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले खानेपानी आयोजनाको हालै उदघाटन गर्नुभयो। नगर प्रमुख बिष्टले नागरिकहरु खानेपानीबाट वञ्चित रहेको अवस्थामा थाहा नगरपालिका र च्वाइस नेपालको सहकार्यमा निर्धारित समयमै अत्याधिक जनश्रमदान बाट आयोजना सम्पन्न भएको बताउनुभयो। उहाँले थाहा नगरको धेरै स्थानमा लिफ्टिङ प्रणालीका खानेपानी आयोजनाले प्राथमिकता पाए पनि विद्युत महसुलका कारण उपभोक्ता मारमा परेको उहाँको भनाइ थियो ।
स्थानीय सरकारले अहिले नै सबै आयोजनालाई विद्युत महसुल छुट दिन नसके पनि प्राथमिकता तोकेर क्रमश छुट गर्दै जाने नगर प्रमुख बिष्टले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नगरको ४ वटा वडामा बृहत खानेपानी आयोजनाको काम भैरहेको र बाँकी वडाहरुमा पनि छिटो भन्दा छिटो खानेपानी आयोजना निर्माण गर्ने लक्ष्य रहेको बताउनुभयो ।