काठमाडौ : बर्षातको पानी संकलन र व्यवस्थापन सम्बन्धी क्षेत्रीय अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ। ‘सवल जल सुरक्षा र जलवायु उत्थानशीलताको लागि’ भन्ने नाराका साथ भोलि र पर्सि (चैत्र ५ र ६ गते) क्षेत्रीय अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको हो ।
बढ्दै गएको पानीको अभाव र अधिक बर्षाका कारण हुने क्षतिलाई दृष्टिगत गरी तिनको समाधान खोज्न स्मार्ट वास सोलुसन्स प्रा.लि.र र एसएनभी नेपालले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँगको सहयोग र समन्वयमा सम्मेलन आयोजना गर्न लागेको हो।
सम्मेलनबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा स्मार्ट वास सोलुसन्सका अध्यक्ष ई.रामदीप साहले सम्मेलनमा बर्षातको पानी संकलन तथा आपूर्तिका क्षेत्रमा काम गरिरहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिहरु, विज्ञ र वैज्ञानिकहरु, विश्वविद्यालयका प्राज्ञ तथा खानेपानीका क्षेत्रमा अध्ययन र अनुसन्धान गरिरहेका विद्यार्थीहरु, पानी आपूर्तिका उद्योग सञ्चालन गरेका उद्योगीहरु, आम नागरिकलाई खानेपानी र सिंचाईका लागि पानी आपूर्ति गर्न अग्रसर जनप्रतिनिधिहरु, खानेपानी तथा सिंचाई उपभोक्ता समितिका प्रतिनिधिहरु र पानीको आपूर्तिका कार्यरत सञ्चारकमीहरुको सहभागिता रहने बताउनुभयो ।
सम्मेलनमा २ वटा प्लेनरी सेसन, ५ वटा प्राविधिक सेसन तथा २ वटा प्यानल डिस्कसन सेसन हुनेछन्।
सम्मेलनमा विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विज्ञहरुबाट ३१ वटा कार्यपत्र प्रस्तुत हुने उहाँले जानकारी दिनुभयो। ती कार्यपत्रहरु बर्षातको पानी संकलन र व्यवस्थापनका नीति, नियमन र संस्थागत ढाँचा, सन २०३० सम्म सबैका लागि स्वच्छ खानेपानी आपूर्ति गर्ने दिगो विकास लक्ष्यको सन्दर्भमा बर्षातको पानीको उपयोगिता लगायत बिषयमा केन्द्रित हुनेछन्।
‘यसका साथै सम्मेलनमा बर्षाको पानी संकलनका क्षेत्रमा विकसित नयाँ प्रविधि र समाधानहरु, पानीको गुणस्तर र जनस्वास्थ्य, अनुसन्धान र विकास, साझेदारी समन्वय निर्माण बर्षाको पानी संकलन र कृषिका साथै बर्षाको पानी र पानीजन्य प्रकोपका सेरोफेरोमा रही विषय विज्ञहरुद्धारा अनुसन्धानमा आधारित कार्यपत्रहरु पेश गर्नुहुनेछ’ अध्यक्ष साहले भन्नुभयो।
सम्मेलन आयोजना गर्न पूर्वमन्त्री ई।गणेश साहको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति, स्मार्ट वासका अध्यक्ष ई.रामदीप साहको अध्यक्षतामा आयोजक तथा व्यवस्थापन समिति र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का पूर्व उपकुलपति डा.सुनिलबाबु श्रेष्ठको अध्यक्षतामा प्राविधिक समिति बनाएर व्यवस्थित रुपमा काम हुँदै आएको पत्रकार सम्मेलनमा उहाँले जानकारी गराउनुभयो।
स्मार्ट वास सोलुसन्स र नेदरल्याण्ड्स विकास नियोग संस्था (एसएनभी) ले खानेपानी तथा ढल व्यवस्थापन विभाग र नेपाल रेनवाटर हार्भेष्टिङ् एलायन्सको समन्वयमा यो सम्मेलन आयोजना गरिरहेका छन् । यस सम्मेलनको सहआयोजकमा इन्टरनेशनल रेनवाटर हार्भेष्टिङ एलायन्स, वाटर एड नेपाल, नेपाल वाटर फर हेल्थ र डब्ल्युडब्ल्युएफ रहेका छन् भने युनिसेफ, विश्व स्वास्थ्य संगठन,नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नगर विकास कोष, वायोग्यास सपोर्ट प्रोग्राम, हेल्भेटास नेपाल, नेपाल खुला विश्वविद्यालय, ग्लोबल पिस फाउण्डेशन, दियालो टेक्नोलोजिज, युथ एलायन्स इन्भायरोमेन्ट, र बेष्ट पानी लगायत संघसंस्थाले सम्मेलनलाई सहयोग गरेका छन् ।
स्मार्ट वास सोलुसन्स प्रा।लि। खानेपानी तथा सरसफाइका क्षेत्रमा काम गर्नका लागि यस क्षेत्रका विज्ञहरुद्धारा स्थापना गरिएको संस्था हो । यसले स्थापनाकालदेखि नै खानेपानी तथा सरसफाइका क्षेत्रमा देखिएका समस्याहरुलाई नवीनतम् प्रविधि मार्फत समाधान गर्न यस क्षेत्रमा कार्यरत संघ,संस्था र उपभोक्ता समितिहरुलाई सहजीकरण गर्दै आइरहेको छ ।
सम्मेलनले चैत्र ६ गते समापन शत्रमा काठमाडौं घोषणा पत्र जारी गर्ने अध्यक्ष साहले जानकारी दिनुभयो।