धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिका – ४ फाक्सिव गाउँमा तीन वटा मुहानको पानीलाई संकलन गरी लिफ्टिङ प्रविधिबाट खानेपानी वितरण गरिएको छ। कादुरी एग्रीकल्चरल र उपभोक्ताको लागत साझेदारीमा करिब डेढ करोड रुपैयाँ लगानी गरेर लिफ्टिङ खानेपानी योजना निर्माण गरिएको हो।
कादुरी एग्रिकल्चरल एड एसोसिएशन विट्रिस गोर्खाज नेपालले ७१ वटा धारा बनाएर हस्तान्तरण गरेपछि फाक्सिव गाउँका बासिन्दाले खानेपानी समस्याबाट छुटकारा पाएका छन्। परियोजना प्रबन्धक देवान राईले फाक्सिव लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर लिम्बूलाई खानेपानी स्वामित्व हस्तान्तरण गर्नुभयो।
उक्त योजना अन्तर्गत स्थानीय ६७, विद्यालय, स्वास्थ्य चौकी र सरकारी कार्यालयमा १र१ गरी ७१ वटा मिटर जडित धारा वितरण गरिएको छ। ३ सय २७ मिटरको भर्टिकल हाईटमा पानी लिफ्टिङ गरी खानेपानी वितरण भएपछि वषौंदेखि झेल्दै आइरहेको खानेपानीको समस्याबाट छुटकारा गाउँलेले पाएका छन्।
स्वामित्व हस्तान्तरण भएपछि उपभोक्ता समितिका अध्यक्ष लिम्बूले यहाँका स्थानीय बासिन्दाले वर्षौदेखि भोग्दै आइरहेको खानेपानी समस्याबाट छुटकारा पाउँदा खुशी लागेको बताउनुभयो । उहाँका अनुसार यो क्षेत्रमा वर्षौदेखि खानेपानीको चरम समस्या थियो। जसको कारण यहाँका स्थानीय पानी ल्याउन बिहान घण्टौ पैदल हिँडेर मुहानसम्म पुग्ने गर्थे। तर अहिले भने घरको आँगनमै रहेको धारामा पानी आउँदा खुशी देखिन्छन्।
कुल लागत मध्ये १ करोड ३४ लाख ७३ हजार ८ सय २१ रुपैयाँ कादुरीको र उपभोक्ताको तर्फबाट श्रमदान बापत १२ लाख ३५ हजार रुपैयाँ बराबरको लगानी छ। गत मंसिरबाट निर्माण सुरु गरिएको योजना निर्माणको काम चार महिना भित्रै सम्पन्न भएको हो।
हस्तान्तरण कार्यक्रममा साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले खानेपानी आयोजनामा आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो। अध्यक्ष राईले खानेपानीको मर्मत सम्भारका लागि दक्ष जनशक्ति उत्पादन गर्न गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता वयक्त गर्नुभयो।
‘निर्माण सम्पन्न भएसँगै खानेपानी घर–घर सम्म त आइपुग्यो। तर दीर्घकालीन सम्म सञ्चालन गर्न धेरै समस्या हुने गर्छ । यसको दिगोपनाका लागि दक्ष जनशक्ति उत्पादन गर्न, भैपरी मर्मत सम्भारको काममा गाउँपालिकाले आवश्यक सहयोग गर्नेछ’ उहाँले भन्नुभयो।