नवलपुर : पूर्वी नवलपरासीको देवचुली नगरपालिका – १६ स्थित आँपचौर खानेपानी योजनाका ठेकेदार सम्पर्क विहीन भएपछि उपभोक्ता समितिले ठेकेदारको खोजी गर्न थालेका छन्। २०७६ सालदेखि निर्माण सुरु भएको सो आयोजना अलपत्र छाडेर ठेकेदार भागेपछि पत्रकार सम्मेलन नै गरेर उपभोक्ता समितिले ठेकेदारको खोजी गर्न थालेको हो ।
०७८ सालमै सम्पन्न हुनुपर्ने आयोजनाको काम ठेकेदारको लापरवाहीले अहिलेसम्म ४० प्रतिशत मात्र सकिएको आँपचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष धनबहादुर क्षेत्रीले बताउनुभयो।
३ करोड ९६ लाखको लागत रहेको खानेपानी आयोजनाका ठेकेदार विगत दुई वर्षदेखि सम्पर्कमा छैनन् । खानेपानी आयोजनाको ट्यांकी तथा अन्य संरचना निर्माणको जिम्मा प्रकृति कश्यप समीर जेभीले लिएको अध्यक्ष क्षेत्रीले बताउनुभयो।
‘हामीले ठेकेदारलाई पटक(पटक सम्पर्क गर्दा पनि काम नगरेपछि पत्रकार सम्मेलन नै गरेर खोजी गर्नु परेको हो’ अध्यक्ष क्षेत्रीले भन्नुभयो। पटक-पटक म्याद थप गरेर आगामी असार मसान्तसम्म समम म्याद भएपनि ६० प्रतिशत काम बाँकी भएकाले आयोजना अलपत्र हुने भन्दै उपभोक्ता चिन्तामा छन् ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले समेत काम सम्पन्न गर्न ताकेता गरिरहेको जनाएको छ । खानेपानी कार्यालयको तर्फबाट केही समस्या नभएको र निर्माण कम्पनीलाई ताकेता गरिरहेको कार्यालयले जनाएको छ।