गोर्खा वेल्फेयरको सहयोगमा १३६ घरको ढोकामै बन्यो धारा

  वास खबर सम्वाददाता  754 पटक हेरिएको


म्याग्दी : ढोकाको सङ्घार पार गर्ने वित्तिकै खानेपानीको धारा भेटिन्छ। चौबीसै घण्टा पानी आईरहने भएकाले जत्तिबेला आवश्यक पर्‍यो त्यत्ति नै बेला धारा खोले पुग्छ । हरेक घरमा एक एक वटा धारा भएपछि पानीकै कारण विवाद हुने दिनको पनि अन्त्य भएको छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं. ६ खिवाङको एउटा घरको कथा होइन, कुल १३६ घरपरिवारले भोग्दै आएको खानेपानीको दुःख अब इतिहास बनेको छ। खानेपानीको लागि डोकोमा गाग्री बोकेर कुवा तथा पधेँरो धाउदै आएका खिवाङबासी अहिले ढोकाकै धारामा खानेपानी भर्छन् ।


गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक सहयोगमा खानेपानी तथा सरसफाइ आयोजना निर्माण सम्पन्न भएपछि पानीको समस्या हल भएको हो। ‘हामीलाई पानीको औधी दुःख थियो। धमिलो पानी छानेर पिउनुपर्ने अवस्था थियो, अहिले त हत्केलामै थापेर पिउँछौं’ खिवाङकै मीना कुमारी गर्बुजाले भन्नुभयो।

खानेपानी प्रशस्त उपलब्ध भएपछि बालबालिकाकालाई समयमै विद्यालय पठाउन पाएको र उनीहरुको सरसफाइमा समेत बृद्धि भएको खिवाङ्का रीना बुद्धुजाको अनुभव छ । ‘नजिकै पानी नभएपछि पानी बोकेर पिउनुपर्ने, पानी लिन जाँदा खाना पकाउन, बालबालिकाको कपडा धुन पनि पाउँदैनथ्यो। घरमै पानी आएपछि कत्ति सञ्चो भयो’ उहाँले भन्नुभयो।


गोर्खा वेल्फेयर ट्रष्टले ७३ लाख रुपैयाँ बराबरको निर्माण सामग्री र प्राविधिक सहयोग तथा उपभोक्ताको ३१ लाख बराबरको श्रमदानमा खिबाङ खानेपानी आयोजना निर्माण सम्पन्न भएको ट्रष्टका प्रोजेक्ट सुपरभाइजर जमुना जिरेलले बताउनुभयो। उहाँका अनुसार आयोजना अन्तर्गत १४२ वटा धारा निर्माण भएका छन् । ती मध्ये १३६ वटा घरधुरीका लागि एक एक वटा र अन्य ६ वटा धारा गुठी, मन्दिर र स्वास्थ्य चौकीको लागि निर्माण गरिएको छ।


खिबाङ गाउँबाट ६ किलोमिटरको दुरीमा रहेको टोड्केको दुई वटा मुहानबाट कलेक्सन च्याम्बरमा पानी संकलन गरी ७ वटा रिजर्भ्वायर ट्याङ्कबाट घरघरमा पानी वितरण गरिएको ट्रष्टका कन्स्ट्रक्सन ईन्जिनियर लीला पुन शेरचनले बताउनुभयो। उहाँका अनुसार खानेपानीलाई प्रदुषण हुनाबाट जोगाउन खानेपानीको मुहानलाई पूरै ढाकेर बाहिरी पातपतिङ्गर जम्मा नहुने गरी बनाईएको छ। जङ्गली जनावर तथा अन्य ब्यक्तिको प्रवेशलाई समे रोक्नका लागि तारबार लगाइएको छ।

आयोजनाको दिगो सञ्चालन र खानेपानीको मितव्ययी प्रयोगका लागि हरेक धारामा मिटर जडान गरिएको छ ।

गाउँमा केही आगलागीको घटना भएमा निभाउने प्रयोजनलाई समेत ध्यान दिएर निर्माण गरिएको खिबाङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष जयराम विकले बताउनुभयो।

पाँच जना मर्मत सम्भार कार्यकर्ता


खानेपानी तथा सरसफाइ आयोजनामा हुनसक्ने सामान्य टुटफुटलाई उपभोक्ता समितिले नै मर्मत सम्भार गर्नका लागि पाँच जना मर्मत सम्भार कार्यकर्तालाई निपुण बनाईएको ट्रष्टका प्रोजेक्ट सुपरभाइजर जमुना जिरेलले बताउनुभयो।

मर्मत सम्भार कार्यकर्तालाई निपुण बनाउनका लागि आयोजना निर्माणको सुरुवातमै छनौट गरी उनीहरुलाई पनि सँगसँगै काममा खटाएर क्षमता अभिवृद्धि गराईएको उहाँले बताउनुभयो।

‘योजना हस्तान्तरण गर्नुभन्दा अगाडि तीन दिनको निर्माण सम्पन्न पश्चातको तालिम हुन्छ । उक्त तालिममा समेत उहाँहरुलाई कहाँ के कस्ता खानेपानीका संरचनाहरु छन् ? विग्रने सक्ने सम्भावित स्थानहरु र बनाउने तरिकाका बारेमा समेत प्रयोगात्मक अभ्यास गराईन्छ’ उहाँले भन्नुभयो।


खानेपनीको मर्मत सम्भारका लागि उपभोक्ता समितिका लागि आवश्यक पर्ने औजारहरु समेत गोर्खा वेल्फेयर ट्रष्टले नै उपलब्ध गराएको उपभोक्ता समितिका अध्यक्ष विकले जानकारी दिनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार