भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका ४ मा इनार खन्ने क्रममा दुई जनाको ज्यान गएको छ। इनार खन्ने क्रममा ग्यास निस्केर निस्सासिँदा रामेछाप घर भई २ वर्षदेखि सोही ठाउँमा बस्दै आएका २८ वर्षका सन्देश सुनुवार र उहाँका काका ४६ वर्षका दीपक सुनुवारको ज्यान गएको हो।
जिल्लाको चाँगुनारायण नगरपालिका ४ खनालचोकस्थित सेतोमाइक्रो पार्क नजिकै जग्गा भाडामा लिएर बसेका उनीहरूले सोही जग्गामा इनार खन्न थालेका थिए।
इनार खन्ने क्रममा अन्दाजी ५५ फिट तल पुग्दा ग्यास निस्किएर अचेत अवस्थामा उद्धार गरिए पनि दुवैजनाको उपचारका क्रममा ज्यान गएको भक्तपुर प्रहरीले जानकारी दिएको छ। खबर प्राप्त हुनासाथ विपद् व्यवस्थापन महाशाखा, काठमाडौँबाट २५ जना सहित जिल्ला प्रहरी परिसर भक्तपुरबाट ३० जना र सशस्त्र प्रहरी बलबाट ९ जनाको टोली उद्धारमा खटिएका थिए ।