बर्दिबास : जलस्रोत सुरक्षा सम्बन्धी प्रदेश स्तरीय कार्यशालाबाट पानी सुरक्षा सँग सम्बन्धित १० वटा अनुसन्धानका शीर्षकहरु तयार पारिएको छ। मधेश प्रदेश, उर्जा सिंचाइ तथा खानेपानी मन्त्रालयको समन्वयमा वाटर एड नेपाल, विकन परियोजना द्वारा आयोजित कार्यशालाबाट पानी सुरक्षामा गर्न सकिने र गर्नुपर्ने अनुसन्धानका विषयहरु समेटेर १० वटा अनुसन्धानका शीर्षकहरु तयार पारिएको विकन परियोजनाका प्रमुख कविन्द्र पुडासैनीले जानकारी दिनुभयो।
कार्यशालाबाट पानी सुरक्षामा काम गर्ने सरोकारवालाहरुको नक्साङकन गरिनुका साथै पानी सुरक्षाका लागि तत्काल गर्न सकिने कार्यहरु र सो को कार्यान्वयनका लागि कार्ययोजना तयार गरिएको छ।
मधेस प्रदेशमा कार्यरत सम्वन्धित संस्थाहरुबीच जलश्रोत व्यवस्थापन सम्वन्धी अनुभवहरु आदान प्रदान गर्न तथा भविश्यमा आवश्यक पर्ने जलश्रोतलाई कसरी संरक्षण गर्न सकिन्छ ? त्यसका लागि जिम्मेवार निकाय निर्धारण गर्ने र जलश्रोत संरक्षणमा विद्यमान नीति, ऐन, मार्ग दर्शनहरु पर्याप्त छन् कि छैनन् ? त्यसबारे समीक्षा गर्ने उद्देश्यले कार्यशाला गोष्ठी आयोजना गरिएको हो ।
वाटर एड नेपालका राष्ट्रिय निर्देशक सुदर्शन न्यौपानेको अध्यक्षतामा यही वैशाख २३ र २४ गते महोत्तरीको बर्दिबासमा भएको कार्यशालामा उर्जा सिंचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहमद अन्सारीले विकास साझेदारहरुसँग श्रोत र साधनको लागि अनुरोध गर्नुभयो ।
जलश्रोत सुरक्षामा हातेमालो गर्न मधेश प्रदेश सरकार तयार रहेको जनाउँदै उहाँले चुरेको संरक्षण सबैको सरोकार हुनुपर्ने बताउनुभयो। उहाँले कार्यशालाको निश्कर्ष सही समयमा शुरु भएको बताउँदै मधेश प्रदेश सरकारका लागि मार्ग दर्शन हुने तथा कार्यशालाको उपलब्धी मुख्य मन्त्री सम्म पुर्याउनका लागि अनुरोध गर्नुभयो ।
कार्यशालामा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) का अध्यक्ष राजेन्द्र अर्यालले ८२ प्रतिशत उपभोक्तालाई खानेपानी उपभोक्ता समितिले खानेपानी सेवा प्रदान गरिरहेको र जलश्रोत सुरक्षाको लागि उपभोक्ता समितिलाई क्षमतावान बनाउन सुझाव दिनुभयो।
मधेश प्रदेश, उर्जा सिंचाइ तथा खानेपानी मन्त्रालयका महाशाखा प्रमुख विश्वनाथ प्रसाद यादब, इन्जिनियर सम्झना लामिछाने, भुमिगत जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय महोत्तरी, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सप्तरीका प्रमुख तथा प्रतिनिधि लगायत मधेश प्रदेशसमा कार्यरत विभिन्न विकास साझेदार संस्थाहरुको प्रमुख तथा प्रतिनिधि, गैह्र सरकारी संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यशालामा जलश्रोत विज्ञहरु डा. विष्णु प्रसाद पाण्डे, रत्नेश्वर लाल कर्ण, सुरेन्द्र राज श्रेष्ठ तथा नागदेव यादबले मधेश प्रदेशमा जलश्रोत व्यबस्थापनका चुनौती र समाधानका उपाय बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो ।
जलश्रोत विज्ञहरु कृष्ण चन्द्र प्रसाद साह, डा. नागेन्द्र प्रसाद यादव तथा कमला बचाउ अभियानका अभियन्ता विक्रम यादब तथा मधेश प्रदेश, उर्जा सिंचाइ तथा खानेपानी मन्त्रालयको इन्जिनियर सम्झना लामिछाने सँग जलश्रोत व्यबस्थापन तथा उपलब्ध नीति तथा ऐन कानुनको बारेमा प्यानल डिस्कसन समेत गरिएको थियो ।
वाटर एड युके तथा एङलियन वाटर एलायन्सका प्रतिनिधिहरुको उपस्थिति समेत रहेको कार्यशालामा तीनवटा विषयमा समूहगत छलफल गरी कार्य योजना बनाइएको छ ।