मधेश प्रदेश वास क्लस्टर पुनर्गठन, विपदमा समन्वयात्मक भूमिका खेल्ने निर्णय

  वास खबर सम्वाददाता  457 पटक हेरिएको


जनकपुरधाम : कोरोना महामारीको समाप्तिसँगै सुस्ताएको खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्लस्टर मधेशमा पुनर्गठनसँगै सक्रिय बनेको छ ।

बुधबार प्रदेश ऊर्जा,सिँचाई तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहमद अन्सारीको अध्यक्षतामा बसेको सो बैठकले प्रदेश वास क्लस्टर पुनर्गठन गर्ने निर्णय गरेको हो । प्रदेश सचिवको अध्यक्षतामा पुनर्गठन भएको क्लस्टरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, सञ्चार तथा कानुन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय र खेलकुद तथा समाज कल्याण मन्त्रालयका प्रतिनिधि सदस्यको रुपमा रहनुहुनेछ ।


यसैगरी, मधेश प्रदेशभित्र खानेपानी, सरसफाइ तथा स्वच्छतामा काम गर्ने विकास साझेदारहरु वेल्टहंगरहिल्फे, वाटरएड, युनिसेफ र प्लान इन्टरनेशनल नेपाल क्लस्टरको सदस्यको रुपमा रहने जानकारी युनिसेफ नेपाल जनकपुरका वास अफिसर सुनिता सुल्पेले जानकारी दिनुभयो ।

मधेश प्रदेशभित्र खानेपानी, सरसफाइ तथा स्वच्छतामा काम गर्ने गैरसरकारी संस्थाहरु, सप्तरी, महोत्तरी, सर्लाही र बारामा रहेका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपाल रेडक्रस सोसाइटी र प्रदेश उद्योग वाणिज्य महासंघ क्लस्टरका सदस्यको रुपमा रहने निर्णय आजको भेलाले गरेको छ ।


क्लस्टरको सहसंयोजक (को–लिड) को जिम्मेवारी युनिसेफ नेपालले पाएको छ भने सदस्य सचिवको रुपमा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका खानेपानी महाशाखा प्रमुख विश्वनाथ प्रसाद यादव रहने निर्णय गरिएको छ ।

विगतमा क्लस्टर गठन भएको भए पनि सीमित सहभागिता र साधन श्रोतको अभावका कारण प्रभावकारी काम हुन नसकेकोले सो हुन नदिनका लागि सदस्यताको दायरा फराकिलो पारिएको महाशाखा प्रमुख यादवले बताउनुभयो ।

सुरक्षा निकाय लगायत प्रदेशका मुख्य सरोकारवालाको सहभागिता रहेको सो भेलाले प्रत्येक जिल्लामा वास क्लस्टर सक्रिय गर्नका लागि जिल्ला विपद् व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

यसैगरी भेलामा मधेश प्रदेशका विभिन्न जिल्लामा हालै भएका आगलागीका घटनामा सरकार तथा विभिन्न साझेदार संस्थाबाट गरिएको समीक्षा गर्नुका साथै खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रसँग सम्बन्धित प्रतिकार्यका कार्य गर्दा विकास साझेदार संस्थाहरुले जिल्ला तथा प्रदेश वास क्लस्टरसँग समन्वय गरेरमात्र गर्ने र सोको रिपोर्टिङ सम्बन्धित जिल्ला र प्रदेश वास क्लस्टरमा गर्नुपर्ने समेत निर्णय गरिएको छ ।


यसअघि पनि प्रदेशस्तरीय क्षेत्रगत आकस्मिक योजनाको मस्यौदा तयार भए पनि पारित नभएकोले सो योजना तयारीका लागि महाशाखा प्रमुख तथा क्लस्टर सदस्यसचिव विश्वनाथ प्रसाद यादवको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलमा युनिसेफ क्षेत्रीय कार्यालय जनकपुरका अन्नपूर्ण मिश्र, वाटर एडका महेश ढुंगाना, प्लान इन्टरनेशनल नेपालका सुनिल खड्का, नेपाल रेडक्रस सोसाइटी, आरएसडिसीका दीपेन्द्र गौतम सदस्यको रुपमा रहनुभएको छ । कार्यदलले आकस्मिक योजनाको मस्यौदा जेष्ठ मसान्तभित्र तयार गरी प्रदेश वास क्लस्टरको बैठकबाट अनुमोदन गरी कार्यान्वयनमा लैजाने समेत निर्णय गरिएको छ ।


प्रदेश वास क्लस्टरको बैठक आवश्यकता अनुसार जुनसुकै समयमा र नियमित रुपमा त्रैमासिक रुपमा बस्ने निर्णय समेत भेलाले गरेको छ ।

भेलाले प्रदेशस्थित सरोकारवालालाई विपद्मा खानेपानी, सरसफाइ तथा स्वच्छता विषयमा तालिम प्रदान गर्ने र प्रदेश वास क्लस्टरसँग सम्बन्धित विषयहरुमा सूचना आदानप्रदान गर्नका लागि उद्योग, सिंचाइ तथा खानेपानी मन्त्रालयमा कार्यरत इञ्जिनियर सम्झना लामिछानेलाई तोक्ने निर्णय गरेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार