राम्रो सँग सुरु नहुँदै चुलिमालिका खानेपानीको दिगोपनामा प्रश्न

  वास खबर सम्बादाता  411 पटक हेरिएको

कालिकोट : कालिटकोको सदरमुकाम मान्म बजारको लागि निर्माण भएको चुलिमालिका बृहत् खानेपानी आयोजना प्रति उपभोक्ताले प्रश्नै प्रश्न तेर्स्याएका छन्। १३ करोड ७१ लाख २९ हजार लागतमा निर्माण भएको खानेपानी दिगो हुने प्रति उपभोक्ताले प्रश्न उठाउका हुन्। विसं। २०७८ सालमा निर्माण सुरु गरिएको खानेपानी आयोजना काम चलाउको रूपमा मात्रै भएको भन्दै उपभोक्ताले दिगो बनाउन माग गरेका छन् ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले २८ करोड लागत अनुमान सहितको ठेक्का आह्वान गरेको भए पनि निर्माण कम्पनीले १३ करोड ७१ लाख २९ हजार बजेटमा निर्माण गर्ने सम्झौता गरेको थियो । ४५ प्रतिशतभन्दा बढी घटेर लिएको ठेक्काबाट आयोजना गुणस्तरीय नहुने यहाँका नागरिक बताउछन् । सुरुमा भौगोलिक अवस्था थाहा नहुँदा यस्तो समस्या भएको निर्माण कम्पनीले समेत स्वीकार गरेको छ ।

वर्षौँदेखि खानेपानी समस्या झेल्दै आएको मान्मावासीले बृहत् खानेपानी आयोजना निर्माणले यहाँका स्थानीयबासी खुसी छन् तर यो आयोजना सुरुवातीमै कमजोर बनेको आरोप छ । कालीकोटको सदरमुकाम मान्म बजारमा चुली हिमालको पानी पुगेको छ । पिउने पानीको अभाव झेलिरहेका कालिकोट सदरमुकाम मान्मका नागरिकका लागि चुलीको पानी पुगेपछि केही राहत भएको हो । २०७८ सालबाट निर्माण सुरु गरिएको चुलिमालिका बृहत् खानेपानी आयोजनाको पानी सदरमुकाम मान्म झारिएको छ । आयोजनाको पानी गत शुक्रवार सदरमुकामको ट्याङ्कीमा झारेपछि सदरमुकामका नागरिकको मुहार खुसी देखिएको छ ।

निर्माण कम्पनी पराजुली कन्स्ट्रक्सन प्रालिले यो आयोजना निर्माण गरेको थियो । ४५ प्रतिशतभन्दा बढी घटेर दरभाउ पेस गरी कम्पनीले आयोजना निर्माण गर्ने सम्झौता गरेको थियो । आयोजनाको पाइपलाइनको लम्बाइ १० किलोमिटरभन्दा बढी छ ।

मान्मका स्थानीय अगुवा चतुर्भुज न्यौपानेले दिगो रूपमा पानी पिउने गरी आयोजना बन्नुपर्ने र यसको नियमन कडाइका साथ हुनुपर्ने माग राख्नु भयो । २८ करोडको आयोजना ठेकेदारले १३ करोड ७१ लाखमा निर्माण गर्ने भनेर ठेक्का पारे पनि अहिले कमसल सामग्री प्रयोग गर्न नपाइने भन्दै तत्काल अनुगमन गर्न माग गर्नुभयो ।

यो आयोजनाले मान्माका वडा नं १ देखि ४ सम्मका १३ सय घरमा एक घर एक धारा निर्माण गरी पानी पुग्नेछ । सदरमुकाम मान्ममा एक लाख २५ हजार लिटरका दुई वटा, ५० हजार लिटरका दुई वटा, ४० हजार लिटरको एक वटा र २५ हजार लिटरको एक वटा गरी जम्मा ६ वटा ट्याङ्की छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार