आरोहीले ‘पुप ब्याग’ आरोहण स्थलमै छोड्दा सगरमाथा प्रदुषित बन्दै

  वास खबर सम्वाददाता  335 पटक हेरिएको

काठमाडौ : सगरमाथा आरोहीले आधार शिविरभन्दा माथिको भागमा मलमूत्रका थैलो यत्रतत्र छाडेको पाइएको छ । सगरमाथा आरोही र सहयोगीले मलमूत्र फिर्ता गर्नुपर्ने नियम बनाएको भए पनि कार्यान्वयन फितलो भएको पाइएको हो। सगरमाथा आरोही संघका साथै संघका महासचिव शिवबहादुर सापकोटा, केन्द्रीय सदस्य तथा अन्य सदस्यले गरेको अध्ययनले यस्तो तथ्य भेटिएको सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पाले बताउनुभयो। ‘आधार शिविरभन्दा माथिको भागमा मलमूत्रका थैलो यत्रतत्र छाडेको पाइएको छ’ उहाँले भन्नुभयो।

यस वर्षको आरोहण सिजनमा सगरमाथा आधार शिविरभन्दा माथि मानव मलमूत्रलाई थैलोमा हाली आफूसँगै आधार शिविरमा फर्काउनु पर्ने नियम बनाइएको थियो । तर, आधार शिविरभन्दा माथिको भागमै यस्ता थैलोहरू यत्रतत्र छाडिएको पाईएको अध्यक्ष शेर्पाले बताउनुभयो। उहाँका अनुसार यस वर्ष संघका संस्थापक महासचिव दिवस पोख्रेलले आधार शिविर र सो भन्दा माथिको अवलोकन गर्नुभएको थियो। यस्ता गतिविधिबाट सगरमाथा अझ फोहोर बन्दै गएको देखिएको संघले जनाएको छ ।

सगरमाथा आधार शिविरमा पर्यटन विभाग, खुम्बु पासाङ ल्हामु गाउँपालिका, सुरक्षाकर्मी सहितको कमान्ड र सरोकारवाला संघसंस्था संलग्न अनुगमन टोली बनाए मात्र सगरमाथा आधार शिविर र सो भन्दा माथिको काम प्रभावकारी हुने समेत संघले निष्कर्ष निकालेको छ ।

यसअघि सगरमाथालाई मानव मलमूत्रविहीन बनाउँदै सफा राख्ने उद्देश्यले खुम्बु पासाङ ल्हामु गाउँपालिकाले खुला शौचमा रोक लगाएको थियो। आधार शिविर व्यवस्थापन कार्यविधि २०८० बनाएको गाउँपालिकाले आरोहीलाई ‘पुप ब्याग’ वितरण समेत गरेको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार