काभ्रे : काभ्रेको बनेपा नगरपालिकाको वडा नं. ७ मा फोहोरमैला व्यवस्थापन गर्न वातावरणमैत्री झोला वितरण गरिएको छ । वडा कार्यालयले वडामा फोहोरमैला व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्नुको साथै वातावरणमैत्री झोला वितरण गरेको हो ।
प्लास्टिक प्रयोगलाई न्यूनिकरण गर्दै फोहोरमैला व्यवस्थापन गर्नको लागि वडाका ७ सय जनालाई वातावरणमैत्री कपडाको झोला वितरण गरिएको वडा सदस्य सोनी बज्रचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार, फोहोर मैला व्यवस्थापन गर्नैका लागि वडाका महिलाहरुलाई वातावरणमैत्री कपडाको झोला बनाउने तालिम पनि प्रदान गरिएको छ । यसले एकातिर आम्दानीको स्रोत जुटाएको छ भने अर्कोतिर फोहोर व्यवस्थापनमा सहयोग पुर्याएको वडा सदस्य रामेश्वरी मानन्धरले बताउनुभयो।
फोहोर व्यवस्थापनका लागि खेर गएका प्लास्टिकको फूल बनाउने, सजावटका सामाग्रीहरु बनाउने तालिम वडाका महिलाहरुलाई प्रदान गरिएको र यसले महिलाहरुलाई आत्मनिर्भर बनाउनुको साथै फोहोर व्यवस्थापनमा सहयोग पुर्याएको उहाँले बताउनुभयो।
नगर वडा नं ७, बजार एवं व्यापारिक क्षेत्र भएकाले फोहोर मैला व्यवस्थापन निकै चुनौतीको विषय भएको छ । यही विषयलाई मध्यनजर गर्दै वडाले विभिन्न समयमा वडावासीहरुलाई फोहोरमैला व्यवस्थापनका विषयमा छलफल तथा अभियान स्वरुप विभिन्न कार्यक्रम गर्दै आएको वडाध्यक्ष हिटलर शाक्यले बताउनुभयो । यही कार्यक्रमलाई निरन्तरता दिँदै यस पटक वडावासीलाई फोहोरमैला व्यवस्थापन सम्बन्धी जानकारी दिने उद्देश्यले अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो।
काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक निर्मल बाबु अर्याल र प्रशिक्षक सञ्जीव घिमिरेले वडाका नागरिकलाई कुहिने र नकुहिने फोहोरबारे जानकारी दिनुको साथै फोहोरलाई घरमै कसरी व्यवस्थापन गर्न सकिन्छ लगायतका विषयमा प्रशिक्षण गराएका थिए । प्लास्टिक प्रयोगलाई न्यूनिकरण गर्न सकेमा फोहोर व्यवस्थापनमा सहज हुने सहप्राध्यापक अर्यालको भनाइ थियो । उनका अनुसार, यसको उपयोगिताबारे पनि सिकाइएको छ ।