२ सय ६१ वटा खानेपानी आयोजनाका लागि साढे २३ करोड बजेट, विनियोजित बजेट बाँकी भुक्तानी गर्नै अपुग

  वास खबर सम्वाददाता  348 पटक हेरिएको

दाङ : खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङमा चालु आर्थिक बर्षका लागि २ सय ६१ वटा खानेपानी आयोजनामा २३ करोड ६७ लाख बजेट विनियोजन गरिएको छ । यी आयोजनामा एक हजारदेखि ५० लाख रुपैयाँसम्म बजेट रहेको कार्यालयले जनाएको छ।

सालाखाला हरेक योजनाका लागि नौ लाख सात हजार बजेट रहेको कार्यालय बताउँछ । कार्यालयका अनुसार ३५ लाख देखि ५० लाखसम्मका जम्मा १२ वटा आयोजना मात्रै छन् । यस वर्ष काममा हातै नहाल्ने आयोजना ७९ छन् । योजना नमरोस् भन्ने उद्देश्यले बजेट राखेको र त्यसमा कामै गर्न नसक्ने कार्यालयले जनाएको छ।

ओभरहेड ट्यांकीदेखि पाइपलाइन, बोरिङ सम्मका योजनामा बजेट अभाव छ । कार्यालयले यस वर्ष बढी प्राथमिकतामा राखेका आयोजना ११ वटा छन् । जसमा अन्यमा भन्दा बढी बजेट विनियोजन गरिएको छ ।

कार्यालयका अनुसार ५० लाख बजेट रहेको सुविधानगर खानेपानी आयोजना घोराही–१३ मा पानी ट्यांकी निर्माणाधीन, ४५ लाख बजेट रहेको बोल्दी चरिवाङ सैघा बृहत् खानेपानी आयोजनामा पानी सञ्चालन गर्ने उद्देश्य रहेको छ । यसैगरी ५० लाख बजेट रहेको बुढा डाबर घसुरा खानेपानी आयोजनामा ओभर हेड ट्यांकीको बाँकी भुक्तानी ५० लाख दिने तयारी छ ।

सरावरीकोट खानेपानी आयोजनामा ४५ लाख लिफ्ट सिस्टम सहितको पानी सञ्चालन गर्ने र ४५ लाख बजेट रहेको अर्घु लमडरुवामा निर्माणाधीन ट्यांकीको भुक्तानी, ४० लाख बजेट रहेको गिधनिया खानेपानी आयोजनामा पानी सञ्चालन गर्ने, ३५ लाख बजेट रहेको बेसाई खानेपानी आयोजनामा ओभरहेड ट्यांकी निर्माणको भुक्तानी दिने योजना छ ।

३८ लाख बजेट रहेको गढवा महदेवामा पानी सञ्चालन तथा ३६ लाख बजेट रहेको बरगदवा सुधार विस्तार, ३५ लाख बजेट रहेको वनघुस्री लमहीमा पानी सञ्चालन र ३५ लाख बजेट रहेको भगवानपुर डुम्रीमा निर्माणाधीन कामको भुक्तानी दिने योजना छ ।

गत वर्ष जिल्लामा २८६ खानेपानीका ठूला साना योजना थिए । आंशिक रूपमा पानी सञ्चालन भएका तर उपभोक्तालाई हस्तान्तरण हुन बाँकी ७५ वटा योजना थिए । गत आर्थिक बर्षमा ३१ वटा मात्रै खानेपानी आयोजनाको काम भएको थियो । ९१ वटा खानेपानी आयोजना बजेट अभावका कारण काम गर्न नसकिएको कार्यालयले जनाएको छ । ती आयोजनामा अघिल्लो वर्षको बाँकी भुक्तानी गर्दा बजेट सकिएर नयाँ काम सुरु हुन नसकेको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार