सुक्दैछ, धर्तीको धमनी अर्थात ताल तलैया र पोखरी

खेलमैदान बनाउने नाममा पोखरी मासेर क्रसर उद्योग सञ्चालन

  भक्तबहादुर शाही  869 पटक हेरिएको
🔗
68
Shares

दैलेख : नदी तथा ताल तलैया व्यवस्थापन भए मात्र जीवन जीउन सजिलो हुन्छ । संघियता सँगै गाउँमा हुने बेथितिको विकासले गाउँका मुहान ताल तलैया सुक्न गई नागरिक बसाई सराई गर्नुपर्ने बाध्यतामा पुगेको छ। पानीलाई धर्तीको धमनी भने पनि तीन वटै सरकारले जल जोगाउनका लागि योजना ल्याए पनि कार्यान्वयन हुन सकिरहेका छैनन् ।

आज भोलि ती पोखरीको नाम निशाना नहुँदा दन्ते कथामा सिमित छ । पोखरी पुरिएपछि आसपासका दर्जन भन्दा बढी कुवा र धारामा पानी बग्न छोडेको छ ।

जल संरक्षणमा यथोचित ध्यान पर्‍याउन नसक्दा ग्रामीण जीवनशैली प्रभावित बन्दै गएको छ । जल संरक्षणको बिभिन्न तरिका मध्ये परापूर्वकाल देखि नै प्राकृतिक हुन वा कृत्रिम पोखरीहरु नै भरपर्दौ माध्यम मानिए पनि पछिल्लो समय बेथितिको विकासको निशाना ताल,तलैया र पोखरी परेका छन् । जसका कारण पानीका मुहान सुक्न गई स्वास्थ्यमा दिन प्रतिदिन संकट थपिदै गएको छ ।

गुराँसे गाउँपालिकामा रहेको तालपोखरीको हालत,तस्वीर : भक्तबहादुर शाही/दैलेख

दैलेख जिल्लाका अधिकाँश ठाउँका नाम ताल,तलैया र पोखरीका नाममा चिनिन्छन् । सुर्खेत दैलेख सडक खण्डमा मात्र आधा दर्जन भन्दा बढी ताल, तलैया र पोखरी भेटिन्छन् । तर ती पोखरी आज भोलि सुख्खा र नाम मात्रका भएका छन् । सडक विस्तार सँगै पोखरी मासिन थालेपछि अब ती नाममा मात्र सिमित जस्तै बनेका छन् ।

तारा पोखरी, ताल पोखरी, सुवा पोखरी, चिसापानी, गोगनपानी, जलकुने, पानी टयांकी जस्ता ठाउँहरु आजभोलि नाम मात्र सुनिन्छन तर त्यहाँको पोखरीमा पानी भेटिदैन । विकास गर्दा वातावरण प्रभाव मुल्यांकन नगरिदा बेथितिको विकास भईरहेको छ । जलचर, थलचरहरुको बारेमाका ख्याल नगर्दा पोखरीमा देखिने मृग, रतुवा, मलेवा, सलेवाहरु पोखरी चर्न आउनै छाडेका छन् ।

जिल्ला सदरमुकामको मूख्य बजारमा कुनै बेला चार वटा पोखरी थिए । आज भोलि ती पोखरीको नाम निशाना नहुँदा दन्ते कथामा सिमित छ । पोखरी पुरिएपछि आसपासका दर्जन भन्दा बढी कुवा र धारामा पानी बग्न छोडेको छ । पुरिएको पोखरी मध्ये एक पोखरी हो दैलेख नारायण नगरपालिका वडा नंं २ माल्ली पोखरी ।

२०६४ तिर खेलकुद मैदान बनाउने बहानामा राजनीतिक संयन्त्रकै मिलोमतोमा पोखरी पुरिँदा हजारौ साल रुख काटेर खेलमैदान बनाईयो । नत खेलकुद मैदान भयो न पोखरी नै रह्यो । पोखरी हुँदाको जति सुन्दरता थियो त्यो अब नरहेको स्थानीयबासी गोरे थापाले बताउनुभयो । ‘पहिला यहाँ पोखरी हुँदा गावै भरिका गाईबस्तुलाई पानी खुवाउन सजिलो हुन्थ्यो । खेलमैदानका नाममा पोखरी पुरिदिएपछि यो ठाउँ सुख्खा बनेको छ । “न त यहाँ पोखरी रहयो, न खेलमैदान बन्यो, सयौ सालका रुख फडानी मात्र गरियो“ उहाँले दुखेसो पोख्नुभयो ।

खेलमैदान बनाउने बहानामा पुरेको पोखरीमा क्रसर उद्योग,तस्वीर : भक्तबहादुर शाही/दैलेख

कुनै बेला पहाडी गाउँका सिरानमा पोखरी वा खालहरु भएको ठाउँमा आजभोलि पोखरी छैनन् । सडक सञ्जालको बिस्तार, मुहान नै थुनिने गरी योजना निर्माण हुनु, सिचाई योजना, जग्गा अतिक्रमण र जलवायूमा आएको परिवर्तनका कारण पोखरी मात्र हैन गाउँ नै सुख्खापनको चपेटामा पर्दै गएको छ । मदान ताल, कुईया ताल लगायतका पहाडका पोखरीहरु कतै संरक्षण नभएर संकटमा पुगेका छन भने कतै संरक्षण गर्न नजान्दा संकटमा परेका छन्। पोखरीकै पानीले खेती किसानी गर्दे आएका नागरिकलाई हिउँद लाग्न साथ पानीको पीडाले पिरोल्ने गरेको दैलेख डुंगेश्वर गाउँपालिका रणबहादुर शाहीले सुनाउनुभयो ।

त्यसैगरी पोखरीहरुकै लेख भनेर पहिचान बनाएको गुराँस गाउँपालिकामा मात्रै ७५ किलोमिटरको पहाडी दुरीमा डेढ दर्जन ठाउँहरु पोखरीकै नाममा छन् । त्यहाँ आजभोलि न पोखरी छ न पानी । पोखरी संगै अधिकाँस जग्गा अतिक्रमण गरेर पोखरीमा खेलमैदान बनाएको गुराँस गाउँपालिका –४ तालपोखरीका बजारका रणबहादुर बुढाले बताउनुभयो ।

पोखरीहरु सुक्नुमा जलवायु परिवर्तन मात्र नभई मुख्य दोषी मान्छे नै भएको उहाँको बुझाई छ । पोखरीकै पानीबाट प्यास मेटाउने पशु चौपायालाई बोकेर पानी खुवाउनु पर्ने किसानाको बाध्यता छ । पोखरी सुख्खा मात्र भएको छैन । पानी हुँदा हराभरा हुने किसानका खेतबारी उज्जाड बनेका छन् जमिन बाँझो छ । सिचाई अभावले गाउँका मानिसहरु पानीकै लागि बसाई सराई गरिरहेका छन् र गाउँ पातलिदै गएको गुराँस गाउँपालिका –४ सुवापोखरीका अर्का किसान विनोद गुरुङले थप्नुभयो ।

पोखरी सुकेपनि स्थानीय नागरिक पुनः पोखरी जोगाउन चाहान्छन् । अतिक्रमणमा परेकोले त्यो सम्भव भने देखिदैन । यसका लागि स्थानीय सरकारले पोखरी संरक्षणमा नीति बनाएर लाग्नुपर्ने स्थानीयको भनाई छ । पोखरी सुके सँगै पशुचौपाया समेत पाल्न छाडेका छन् भने सदियौ देखि पिउदै आएका पानीका मूहानहरु समेत सुक्न थालेको स्थानीबासीको भनाई छ । गाउँमा आएको सिंहदरबारले किसानलाई सेवा सुविधा भन्दा बढ्ता सास्ती दियो, गाउँका शिरानमा भएको पोखरी विकासको निशाना बने । सदुपयोगको लागि स्थानीय सरकारले चासो देखाएन । पोखरी सुक्दै जाँदा ग्रामिण भेगको जीवनशैली खलबलिएको छ ।

सुवा पोखरी संरक्षण अभावमा सुक्दै,तस्वीर : भक्तबहादुर शाही/दैलेख

यसै प्रभावलाई न्यूनिकरण गर्ने गरी गुराँस गाँउपालिकाले तत्काल सम्भव भएको तर सुकेको पोखरीहरुलाई पुनः जगाउने गरी योजना बनाएको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसी बताउँनुहुन्छ । हाम्रो पालिकाले पोखरी जगाउने गरी योजना ल्याएका छौं । चालु आर्थिक बर्षदेखि कार्यान्वयन हुने छ’ उहाँले भन्नुभयो ।

गाउँको शिरानमै भएको खाल अर्थात पोखरीहरु नै सुख्खा भएर धुलो उड्न थालेको बर्षौ पछि पानीको मुहान सुक्न थाले पछि पोखरी जगाउनु पर्ने माग विस्तारै उठन थालेको छ । विकासको नाममा अन्धाधुन्ध मेसिन चलाउँदा पहाडी जनजीवन खलबलिएको छ । गाउँले वातावरण प्रभावित भएको छ । कृत्रिम होस या प्राकृतिक रुपले जलवायुमा परेको प्रभावलाई न्यूनीकरण गर्न तीनै तहको सरकारको ठोस कार्यनिति आवश्यक छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार