तारे होटलमा प्लास्टिकजन्य बोटलका खानेपानीमा रोक

  वास खबर सम्वाददाता  112 पटक हेरिएको

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको पर्यटन विभागले तारे होटलहरूमा प्लास्टिकजन्य बोटल सहितका पेय पदार्थमा रोक लगाएको छ।

पर्यटन विभागले प्रेस विज्ञप्ति जारी गर्दै तारे होटलहरू (चार तारे, पाँच तारे र पाँच तारे डिलक्स) सबै रिसोर्टहरू (डिलक्स र लक्जरी) हरूमा प्लास्टिकजन्य बोटलहरूमा रोक लगाएको हो।

विभागबाट तारे स्तरमा स्तरवर्गीकरण भई इजाजत प्राप्त गरी सञ्चालनमा रहेका होटल तथा रिसोर्टहरूमा प्लास्टिकजन्य बोटल सहितका पेय पदार्थहरू प्रयोगमा आइरहेका भनी जानकारी प्राप्त हुन आएकाले तत्काललाई कम्तिमा चार तारे वा सोभन्दा माथिल्लो स्तरका होटल तथा रिसोर्टहरूमा खानेपानीको लागि प्रयोगमा आउने प्लास्टिकजन्य बोटलमा रोक लगाएको पर्यटन विभागका महानिर्देशक सहसचिव डा. नारायण रेग्मीले बताउनुभयो।

प्लास्टिकजन्य बोटलको प्रयोगबाट मानव स्वास्थ्य तथा वातावरणमा समेत नकारात्मक प्रभाव पर्ने हुँदा प्लास्टिकजन्य बोटलको प्रयोगमा निषेध गरी काँचका बोटल तथा अन्य धातुको भाँडा प्रयोग गरी होटलका कोठा तथा रेष्टुरेन्टहरूमा पिउने पानीको व्यवस्था मिलाउन निर्देशन दिइएको महानिर्देशक डा. रेग्मीले बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार