बैतडी : बैतडी सदरमुकामको मुख्य बजार गोठालापानी नजिकै सडक किनारमा फोहोर जम्मा गरेर जलाउदा निस्केको धुँवाको मुस्लोका कारण सास फेर्न कठिनाइ हुन थालेको छ । सदरमुकामको फोहोर विसर्जन गर्ने डम्पिङ साइट नहुँदा दशरथ चन्द नगरपालिकाले मुख्य बजार जाने सडक किनारमै फोहोर फालेर आगो लगाउने गरेको छ।
२०५४ सालमा स्थापना भएको दशरथ चन्द नगरपालिकाले २७ वर्षसम्म डम्पिङ साइट खोज्न नसक्दा नगरपालिका–४, गोठालापानी बजारको सडक किनारमै फोहोर विसर्जन हुँदै आइरहेको छ । डम्पिङ साइट नहुँदा सडक किनार दुर्गन्धित मात्रै बनेको छैन, धुवाँको मुस्लोले बजार, अस्पताल र क्याम्पस आवतजावत गर्ने यात्रुलाई श्वास फेर्न कठिन हुन थालेको छ ।
डम्पिङ साइटका लागि उपयुक्त जग्गाको खोजी भइरहेको दशरथ चन्द नगरपालिका सरसफाइ तथा वातावरण शाखा प्रमुख अमर कार्कीले बताउनुभयो । उहाँले डम्पिङ साइट नहुँदा कुहिने, नकुहिने र सिसाजन्य फोहोर सडक किनारमै फालेर आगो लगाउनुपर्ने बाध्यता रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सडक किनारमा फोहोरको थुप्रो धेरै भएपछि आगो लगाएर डढाउनुपर्ने बाध्यता छ । डम्पिङ साइटका लागि नगरपालिकाले जग्गा नखोजेको पनि होइन । यसअघि दशरथ चन्द नगरपालिका–४, तोलीमा ५० लाख रुपियाँ खर्च गरेर जग्गा किने पनि तलतिर मन्दिर भएकाले स्थानीयको विरोध गरेपछि फोहोर फल्न सकिएन ।
सो जग्गा अहिले सशस्त्र प्रहरी बल नेपाललाई दिइएको छ ।” उहाँका अनुसार नगरको फोहोर व्यवस्थापन गर्न दशरथ चन्द नगरपालिका–६ मा नयाँ डम्पिङ साइटका लागि जग्गा किन्ने कुरा चलिरहेको छ । जग्गाधनीले लालपुर्जा नगरपालिकामा दिएर गएकाले केही दिनभित्रै सो जग्गाको निरीक्षण हुने उहाँले जानकारी दिनुभयो ।
दशरथ चन्द नगरपालिकाभित्र सदरमुकामपछि देहिमाण्डौ र मुस्याचौर बजारको फोहोर पनि दशरथ चन्द नगरपालिका–२, कठपतेनजिकै सडकमाथि फाल्ने गरिएको छ ।
नगरपालिकाले फोहोरको वर्गीकरण नगरी सबै किसिमको फोहोर टिप्परमा जम्मा गरेर सडक किनारमा फालेर आगो लगाउँदै आइरहेको खबर गोरखापत्र दैनिकका लागि बैतडीबाट गोकर्ण दयालले लेेेख्नु भएको छ।
निर्वाचनका बेला जनप्रतिनिधिले नगरपालिकालाई प्लास्टिकमुक्त बनाउने नारा सार्वजनिक गरे पनि खाद्यान्नका वस्तुमा समेत कालो प्लास्टिकको झोलाको प्रयोग भइरहेको छ ।