झापा : झापाको भूमिगत पानीमा पछिल्ला बर्षहरुमा नयाँ समस्या देखिएको छ । बोरिङ गरी प्रशोधन समेत गरेर पठाएको पानी पनि उपभोक्ताको धारामा पुग्दा कालो रङको हुने समस्या देखिएको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका प्राविधिक रघु खतिवडाले बताउनुभयो ।
उहाँका अनुसार केही बर्ष पहिलेसम्म यो समस्या कहीं कहीँ देखिए पनि पछिल्लो समय बढी पानीको प्रवाह हुने एरियामा धेरै देखिन थालेको छ । रातको समयमा स्थिर भएको पानी बिहान धारा खोल्दा कालो पानी आउने गरेको उहाँले बताउनुभयो ।
पानी परिक्षणका लागि खानेपानी विभागमा पठाए पनि यो नै समस्या हो भनेर एकीन नभएको उहाँले बताउनुभयो । ‘ट्याङ्कीबाट सफा पानी पठाएका छौं, पाइपलाइनमा पनि सफा नै छ, तर धारामा चाहिं कालो पानी आउने भएपछि हामीले विभागमा परिक्षणका लागि पठायौं’ उहाँले भन्नुभयो।
पानीमा म्यागनिजको मात्रा केही बढी देखिएकाले त्यसैका कारण यस्तो भएको हुनसक्ने उहाँको अनुमान छ । पानीको अरु सबै पारामितीहरु मापदण्डभित्रै भएको र म्यागनिजको मात्रा केही बढी देखिएको उहाँले बताउनुभयो ।
राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ ले म्यागनिजको अधिकतम सघनन् सीमा ०.२ मिलीग्राम प्रति लिटर तोकेको छ।
यो समस्या हटाउनका लागि पछिल्लो समय काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले ब्लिचिङ पाउडरको मात्रा बढाएर हरेक तीन महिनाको फरकमा रिजर्भ्वायर ट्याङ्क र सम्पूर्ण प्रणाली नै सफा गर्दै आएको छ । ‘हामीले हरेक तीन महिनाको फरकमा तीन दिनसम्म बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म वास आउट अभियान चलाई रहेका छौं, वास आउट अभियान चलाउन थालेपछि त्यो समस्या हटेको छ’ उहाँले भन्नुभयो।
विस्तृतमा हेर्नुहोस्, प्राविधिक रघु खतिवडासँग गरिएको कुराकानी :