नेपालगन्ज :स्वास्थ्यजन्य फोहोर जथाभावी फालेको पाएपछि नेपालगन्जको सुनगाभा स्वास्थ्य सरोकार केन्द्रलाई कारवाही गरेको छ । नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्टले नेपालगन्जलाई सफा राख्न तथा अनावश्यक फोहोर गर्नेहरुलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत सुनगाभा स्वास्थ्य सरोकार केन्द्रलाई कारवाही गरेर २५ हजार रुपियाँ जरिवाना तिराईएको हो।
नेपालगन्ज उपमहानगरपालिकाले पछिल्लो समय सार्वजनिक स्थानमा फोहोर फाल्ने पसल, फर्म, संस्था र व्यक्तिमाथि कडा निगरानी गर्दै आएको छ ।उपमहानगरपालिकाले नगरका कुनै पनि सार्वजनिक स्थानमा कुनै प्रकारको फोहोर फाल्नेहरु माथि कडाइ गर्दै जरिवाना गरेको हो।
नेपालगन्ज उपमहनगरका नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सुर्य बोगटीले सार्वजनिक स्थानमा फोहोर फालेकोले सुनगाभालाई जरिवाना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार उपमहानगरपालिकाले सार्वजनिक स्थानमा स्वास्थ्य तथा औषधीजन्य फोहोर फाल्ने वडा नम्बर १० शीतलनगर स्थित सो सुनगाभा केन्द्रलाई २५ हजार रुपियाँ जरिवाना तिराइएको छ ।
“हामीले फोहोर फाल्नेलाई स्पटमै बोलाएर, जरिवानासँगै अब उप्रान्त नफाल्ने प्रतिबद्धता समेत गराउँदै आएका छौं,” प्रहरी निरीक्षक बोगटीले भन्नुभयो, “फालिएको औषधीजन्य फोहोर उठाउन लगाएर कम्पनीमा फिर्ता गर्न लगाएका पनि छौं ।”
उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम सार्वजनिक स्थानमा फोहोर गर्ने वा फाल्नेलाई कारवाहीस्वरुप उपमहानगरले जरिवाना तिराउँदै आएको छ।
ठाउँका ठाउँ कारवाही गरेर जरिवाना गर्न थालिएपछि जथाभावी फोहोर फाल्ने क्रम केही हदसम्म घटेको जनाउँदै नेपालगन्ज उपहानगरका उपमेयर कमरुद्दीन राईले नगरलाई सफा राख्ने अभियानमा सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले हरेक व्यक्तिले आफ्नो घर, पसल र संस्थाको अगाडि सफा राख्ने, तोकिएको स्थानमा फोहोर फाल्ने हो भने नेपालगन्जलाई पश्चिम नेपालकै नमुना सहर बनाउन धेरै दिन नलाग्ने दाबी गर्नुभयो ।