कपिलवस्तु : कपिलवस्तु नगरपालिका –३ जमोहरास्थित राधाचन्द्र आधारभूत विद्यालयमा खानेपानीको ट्याङ्की निर्माण गरिएको छ । रोयल थाई मोनाष्ट्री लुम्बिनी, स्वर्णभूमि फाउण्डेशन नेपाल तथा वाटथाई निग्रोधाराम र नेपाल अर्बुद रोग निवारण संस्थाकोे सहयोगमा ट्याङ्की निर्माण गरिएको हो ।
मोनाष्ट्रीका प्रमुख भिक्षु सुपोत र कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुनाराम पौडेलले रिबन काटी ट्याङ्कीको धारा खोलेर खानेपानी सञ्चालन गरी ट्याङ्कीको उदघाटन गर्नुभयो। सो लगत्तै विद्यार्थीले धाराको पानी पिउन सुरु गरेका छन् ।
सो अवसरमा मोनाष्ट्रीका प्रमुख भिक्षु सुपोतले बिद्यालयमा थप सहयोग गर्न आफु तत्पर रहेको बताउनुभयो । शिक्षामा गरेको लगानी कुनै पनि हालतमा खेर नजाने बताउँदै उहाँले भन्नुभयो “अब स–साना बालबालिकाका लागि पिउने पानीको सहजता भयो ।” हामी निकै खुशी भएका छौं ।
नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पौडेलले नगरपालिकाले सहजै गर्न नसकेको काम रोयल थाई मोनाष्ट्रीले विद्यालयमा खानेपानी व्यवस्थापन गरेको प्रति आभार व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ‘सीमित स्रोत र साधनका वावजुद चाहँदा चाहँदै पनि यस्ता किसिमका सेवा सुविधाहरु अझै बाँकी रहेको छ ।’
विद्यालयका प्रधानाध्यापक गीता खनालले विद्यालयमा खानेपानीको समस्या चुनौतीको रुपमा रहँदै आएको र यो समस्या आज पूरा भएको बताउनुभयो । आउने दिनमा पनि उहाँहरुले विद्यालयलाई सहयोग गर्ने आपेक्षा राखेको प्रअ खनालको भनाइ छ ।
नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष राजेश ज्ञवालीले सामाजिक क्षेत्रमा लगानीको आवश्यकता रहेको बताउनुभयो । स्थानीय सरकारले समेत सामाजिक कार्यमा चासोका साथ हेर्नुपर्ने बताउँदै राधाचन्द्र आधारभूत विद्यालयलाई निरन्तर सहयोगको वातावरण मिलाउने उहाँको भनाइ छ ।
अति विपन्न तथा ग्रामीण क्षेत्रका बालबालिका अध्ययन गर्ने यस विद्यालयमा खानेपानीको सहज व्यवस्थापनले विद्यालयलाई ठुलो सहयोग पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उज्ज्वल शर्माले बताउनु भएको खबर गोरखापत्रले प्रकाशन गरेको छ।
कार्यक्रममा थाई दूतावासका प्रतिनिधि, स्थानीय, समाजसेवी, विद्यालय व्यवस्थापन समितिका सदस्यलगायतको सहभागिता थियो


275 पटक हेरिएको 

