
काठमाडौ : काठमाडौं महानगरले तोकेको जरिवाना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुझाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेट परिसर, तिलगंगा, गौशाला लगायत क्षेत्रमा फोहोर गरिएको भन्दै काठमाडौं महानगरले जरिवाना तोकेको थियो । उक्त जरिवाना राप्रपाले आज महानगरपालिकालाई बुझाएको हो ।
राप्रपा प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले फेसबुकमा तस्बिर राख्दै लेख्नु भएको छ ‘हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौं । राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाइ बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् । महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौं । रु १ लाख रुपैयाँ हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौं।’
महानगरले आइतबार पत्र पठाउँदै पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडक पेटी तथा आइल्यान्ड र सोमा रहेका बिरुवा साथै रेलिङमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरी वातावरण प्रदूषण गरेकामा फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख जरिवाना गरिएको उल्लेख गरेको थियो ।


317 पटक हेरिएको 

