३० हजार जनसंख्या लाभान्वित हुने अर्जुनधारा खानेपानीको कामले गति लिँदै

  वास खबर सम्बाददाता  405 पटक हेरिएको
🔗
26
Shares

झापा : झापाको अर्जुनधारा–८ स्थित शनिश्चरे–अर्जुनधारा खानेपानी तथा सरसफाइ आयोजनाको कामले गति लिईरहेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरले कार्यान्वयन गरिरहेको खानेपानी आयोजना अघिल्लो आर्थिक वर्ष २०७९/०८०देखि शुरु भएको हो ।

उक्न खानेपानी आयोजनाबाट अर्जुनधारा नगरपालिकाको ५, ६, ७, ८, ९, १० र ११ नं. वडाका ६ हजार ८१५ घरधुरीका ३० हजार तीन जना जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन् । आयोजना अन्तर्गत हाल लक्षित वार्डहरुमा सडकको दुवै तर्फ पाइपलाइन विस्तारको कार्य भइरहेको छ ।

जम्मा १८० किलोमिटर मध्ये हालसम्म ८० किलोमिटर क्षेत्रफलमा पाइपलाइन विस्तारको कार्य सम्पन्न भएको समितिका अध्यक्ष किरण शिवाकोटीले जानकारी दिनुभयो । “२०७९ चैत २ गते समिति र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगर बीच भएको सम्झौता अनुसार आगामी आर्थिक वर्ष २०८२/०८३ भित्र सम्पन्न गर्नुपर्ने उक्त आयोजनालाई निर्धारित समयभित्र सम्पन्न गर्न हामी सबैको निरन्तर प्रयास रहेको छ” उहाँले भन्नुभयो।

अध्यक्ष शिवाकोटीका अनुसार आयोजना अन्तर्गत अर्जुनधारा–९ स्थित मगरचोकमा रहेको समितिको अर्को खानेपानी ट्याङकी रहेको क्षेत्रमा एक थान डिप बोरिङ खन्ने, प्यानल बोर्ड र फिल्टर प्लान्टको लागि आवश्यक भौतिक संरचना निर्माण लगायतका कार्यहरु सम्पन्न भएको छ।

हाल समितिसँग अर्जुनधारा–८ स्थित केन्द्रीय कार्यालयमा दुई लाख २५ हजार लिटर क्षमताको एउटा ट्याङकी र मगर चोकमा चार लाख ५० हजार लिटर क्षमताको अर्को ट्याङकी गरी जम्मा ६ लाख ७५ हजार लिटर क्षमताको दुई वटा खानेपानी ट्याङकी रहेको छ । वितरणका लागि खानेपानी भए पनि आवश्यक भौतिक संरचना र पाइपलाइन विस्तार नभएको अवस्थामा समितिको विशेष पहलमा प्राप्त भएको यस आयोजनाले उपभोक्ताको बढ्दो मागलाई पूरा गर्ने अध्यक्ष शिवाकोटीले बताउनुभयो।

आयोजनाको प्रारम्भिक लागत इष्टिमेट ३० करोड ३५ लाख ७० हजार छ सय ९८ रुपैयाँ ९५ पैसा रहेकोमा ठेक्का प्रक्रिया मार्फत् हालको लागत १६ करोड ४४ लाख ७२ हजार सात सय ३४ रुपैयाँ २८ पैसा (भ्याट बाहेक) रहेको छ । आयोजना अन्तर्गत डीप ट्युबवेल, बोरवेल प्लेटफर्म, कम्पाउण्ड वाल, मिटीङ हल, भल्भ चेम्बर (सानो), भल्भ चेम्बर (मझौला), भल्भ चेम्बर (ठूलो), एयर भल्भ चेम्बर, सर्फेस भल्भ बक्स, वासआउट चेम्बर, क्रसिङ, प्रेसर फिल्टर, क्लोरिन डोजिङ रुम, क्लोरिनेसन युनिट, इलेक्ट्रोमेकानिकल वर्कस, जेनेरेटर सेट, फायर हाईड्रेन्ट लगायत २४ वटा विभिन्न संरचना निर्माण हुनेछन् ।

यस अघि विपन्न उपभोक्ताहरुलाई धारा जडानमा २५ प्रतिशत छुट दिएको शनिश्चरे–अर्जुनधारा खानेपानी उपभोक्ता सरसफाई उपभोक्ता समितिले उपभोक्ताहरुलाई खानेपानीको पहुँचमा पुर्‍याउने उद्देश्यले किस्ताबन्दीमा धारा जडान गर्ने कार्यक्रम शुरु गरेको छ ।

समितिको गत माघ १५ गतेको निर्णय अनुसार धारा जडान गर्न इच्छुक उपभोक्ताले प्रारम्भमा जम्मा शुल्कको ५० प्रतिशत शुल्क बुझाएपछि बाँकी शुल्क छ महिनाभित्र किस्ताबन्दीमा बुझाउन सक्ने समितिका सचिव राकेश ढकालले जानकारी दिनुभयो।

त्यसैगरी अर्जुनधारा नगरपालिकाको एक मात्र सामुदायिक क्याम्पस शनिश्चरे बहुमुखी क्याम्पसमा निःशुल्क रुपमा खानेपानी वितरण गर्ने निर्णय गरेको छ । “क्याम्पसमा अध्ययन गर्ने ग्रामीण भेगमा बसोबास गर्ने मध्यम एवम् निम्न वर्गका विद्यार्थीहरुलाई लक्षित गरी उक्त निर्णय गरेका हौं ।” सचिव ढकालले भन्नुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार