कालिकोट : कालिकोट जिल्लाको पाँचवटा स्थानीय तहका ६ हजार ६ सय ५८ घरपरिवारमा ‘एक घर एक धारा’ को सुविधा पुगेको छ। निर्माण गरिएको हो। जिल्लाको नरहरिनाथ, सान्नित्रिवेणी, शुभकालिका गाउँपालिका तथा खाँडाचक्र रास्कोट नगरपालिकामा ८० वटा खानेपानीका बृहत आयोजना सम्पन्न गरी यत्ति धेरै घरपरिवारमा एक घर एक धारा सुविधा पुर्याईएको हो।
खाँडाचक्र नगरपालिकामा ७ योजना सकिँदा ६ सय ७५ धारा निर्माण भएका छन्। रास्कोट नगरपालिकामा १६ योजनामा एक हजार चार सय ३२ धारा निर्माण भएका छन्।
यस्तै नरहरिनाथ गाउँपालिकामा ३३ वटा योजना सकिँदा दुई हजार ६ सय २८ धारा निर्माण भएका छन्। शुभकालिका गाउँपालिकामा २२ योजना सकिँदा एक हजार सात सय ७९ धारा र सान्नित्रिवेणी गाउँपालिमा दुईवटा योजना सकिँदा एक सय ६२ धारा निर्माण भएको हुरेन्डेक नेपाल कालिकोटका जिल्ला व्यवस्थापक दिलिपकुमार शाहीले बताउनुभयो । सरकारको ‘एक घर एक धारा’ नीति अनुरुप खानेपानीको सुविधा उपलब्ध गराउने गरी महत्वपूर्ण रणनीतिक कदम अनुरूप समुदायमा धारा निर्माण गरेको उहाँको भनाइ छ।
खानेपानी आयोजनाहरू पूर्ण रूपमा सञ्चालन नहुने विभिन्न कारणमध्ये आयोजनाप्रति अपनत्वको भाव कम हुनु रहेको शुभकालिका गाउँपालिका वडा नं ८ का अध्यक्ष दीपराज महताराले बताउनुभयो। उहाँले ‘मानिसमा ‘यो मेरो हो’ भन्ने भावना जागृत नभएसम्म संरचनाको रेखदेख, मर्मत–सम्भार र जिम्मेवारी लिन नसकिने बताउनुभयो। सानातिना कुरामा पनि अरूको मुख ताक्ने प्रवृत्ति त्याग्नुपर्ने उहाँले उल्लेख गर्नुभयो।
कालीकोटमा यो वर्ष १५ वटा खानेपानीका ठुला योजना निर्माणाधीन अवस्थामा छन् भने उक्त योजनामा सबै क्षेत्रको कुल ६ करोड ८८ लाख नौ हजार एक सय १० रूपैया बजेट खर्च लाग्ने हुरेन्डेक नेपालले जनाएको छ।
गाउँमा खानेपनीका धारा निर्माणले टाढाबाट बोक्नुपर्ने पानीका दुःख हटेको शुभकालीका वडा नं ३ की जुना विकले बताउनुभयो। उहाँल्े भन्नुभयो ‘हामीलाई खानेपानीको दुःख साह्रै थियो, अहिले घरघरमा पानीका धारा पुगेका छन्, पानीको दुःख हटेको छ।’
सन् २००८ देखि हाल २०२५ सम्म आउँदा हेल्भेटास नेपालको सहयोगमा हालसम्म ‘एक घर एक धारा’ निर्माण गरी पाँचवटै स्थायनीय तहमा एक सय १० योजना सम्पन्न भएका छन् भने २४ करोड १४ लाख ७१ हजार एक सय ९८ रूपैयाँ खर्च भएको छ। सात हजार पाँच सय ४५ धारा निर्माण गरिएको हुरेन्डेक नेपालका प्रमुख कार्यकारी तथा सामाजिक अभियन्ता जजराज शाहीले बताउनुभयो।
एकीकृत जलस्रोत व्यावस्थापन कार्यक्रम (वाम्पी) हेल्भेटास नेपाल र कार्यक्रम लागु भएका स्थानीय तहको आर्थिक सहयोग, मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालीकोटको प्राविधिक, सामाजिक सहयोग तथा साझेदारीमा पाँचवटै स्थानीय तहमा सम्पन्न योजनामा समुदायको श्रमदान तीन करोड ९२ लाख ७२ हजार चार सय ७९ यस्तै पालिकाको लगानी तीन करोड ४२ लाख ९७ हजार एक सय ४८ रूपैयाँ र हेल्भेटास नेपालको सात करोड ४२ लाख १३ हजार नौ सय ८१ गरी जम्मा १४ करोड ७७ लाख ८३ हजार ६ सय आठ रूपैयाँ खर्च भएको हुरेन्डेक नेपालका कार्यक्रम संयोजक नरेश दर्जीले बताउनुभयो।
‘एक घर एक धारा’ नीतिको सफल कार्यान्वयनले आयोजना प्रति उपभोक्ताको अपनत्व अभिवृद्धि भई आयोजना दिगो रूपले सञ्चालन गर्न सहयोग पुग्ने हेल्भेटास नेपालका वास अधिृकत चन्द्रप्रकाश केसीले बताउनुभयो।
नेपालको संविधानमा ‘सुरक्षित खानेपानी र सरसफाइमा पहुँच’ सम्बन्धी मौलिक हकको सफल कार्यान्वयनका लागि तथा वास क्षेत्र विकास योजनाले तय गरेको उच्च/मध्यमस्तरको सेवा सुनिश्चित गरी दिगो विकासको छैटौं लक्ष्य हासिल गर्न समेत यो नीति अपरिहार्य रहेको उहाँको भनाइ छ।
नेपालको संविधानले सुरक्षित खानेपानी र सरसफाइ पहुँचलाई मौलिक हकका रूपमा मान्यता दिएको छ । संविधानको धारा ३५ मा ‘स्वास्थ्य सम्बन्धी हक’ समावेश गरिएको छ।
यसको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँचको हक हुनेछ भन्ने वाक्यांश उल्लेख गरिएको छ । त्यसैगरी धारा ३० मा स्वच्छ वातावरणको हक समावेश गरिएको छ । जसको उपधारा १ मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ भन्ने व्यवस्था गरिएको छ भने उपधारा २ मा वातावरणीय प्रदुषण र ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदुषणबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने कानुनी हक रहेको छ ।
समुदायको चासो र तीनै तहको सरकारको नीतिले गर्दा ‘एक घर एक धारा’ नीति प्राथमिकतामा परेको मानवअधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालीकोटका उपाध्यक्ष खडानन्द अधिकारीले बताउनुभयो।