
बेनी : म्याग्दीको बहुप्रतिक्षित गौरवको आयोजनाको रुपमा घोषणा गरिएको बृहत घोष्टेखोला खानेपानी आयोजना निर्माणको काम सुरू भएको छ । जिएटिआरसी–प्यागोडा–सासा जेभीले निर्माणको जिम्मा लिएको खानेपानी आयोजना सम्पन्न भएपछि रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका छ वटा वडाका दुई हजार तीन सय ६९ घर परिवार लाभान्वित हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले जनाएको छ।
३५ करोड ६३ लाख ३९ हजार सात सय २७ रुपैयाँ लागत अनुमान गरिएको योजना निर्माणका लागि गत असारमा २८ करोड ५० लाख १२ हजार सात सय ५५ रुपैयाँमा निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको थियो ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीका आयोजना प्रमुख सिडिई सुनम थापाले निर्माण कम्पनीले रघुगङ्गा गाउँपालिका–६ करेन्टखोलामा मुहान, मुख्य पाइपलाइन र पानी प्रशोधन केन्द्रको संरचना निर्माण सुरू गरेको जानकारी गराउनुभयो। ठाडाखानीमा यसै आर्थिक वर्षभित्रमा योजना मार्फत खानेपानी वितरण गर्ने लक्ष्य सहित काम भइरहेको उहाँले बताउनुभयो।
‘यस वर्ष बिनियोजन भएको तीन करोड भन्दा बढीको काम भइसकेको छ,’आयोजना प्रमुख थापाले भन्नुभयो ‘वि.सं.२०८१ असार २४ गते सम्झौता भएको योजना वि.सं.२०८४ असार २३ गते सम्पन्न गर्ने लक्ष्य छ ।’ संघीय सरकारको खानेपानी मन्त्रालयको केन्द्रिय खानेपानी कार्यक्रममा वि.सं.२०७३ देखि समावेश भएको यो योजनालाई तत्कालीन जिविसको जिल्ला परिषद् र संघीयता कार्यान्वयनपछि जिल्ला सभाले म्याग्दीले गौरवको आयोजनाको सूचीमा समावेश गरेको छ ।
बेनी नगरपालिकाको ५, ६, ९, १० नम्बर वडा, रघुगङ्गा गाउँपालिका–६ पाखापानी र वडा नं. ५ झीँलाई लक्षित गरी वि.स. २०७३ मा परिकल्पना गरिएको बृहत घोप्टेखोला खानेपानी योजना निर्माण गर्न पछिल्लो पटक सन २०२२ मा सर्वेक्षण भएको थियो ।
योजना मार्फत् १६ हजार एक सय ८६ जनसंख्या लाभान्वित हुने आयोजनाका इञ्जिनियर नविन सुवेदीले बताउनुभयो। रघुगङ्गा–६ पाखापानीको करेन्टखोलाको मुहानबाट पाइपलाइन मार्फत् ल्याइएको पानीलाई पाखापानीकै शिरमा रहने ट्याङ्कीबाट वितरण पाइप मार्फत् पाखापानी र त्यहाँबाट झीँ, पात्लेखेत, घतान, पुलाचौर हुँदै अर्थुङ्गे क्षेत्रसम्म खानेपानी सुविधा विस्तार गर्ने योजना रहेको छ ।
मुहान, ७६.२९ किलोमिटर मुख्य र ८६.२४ किलोमिटर वितरण पाइपलाइन,पानी प्रशोधन पलान्टलगायतका संरचना ठेक्का मार्फत निर्माण गर्न लागिएको हो । कूल ४८ करोड १६ लाख ५० हजार लागत अनुमान गरिएको आयोजनाको १० प्रतिशत सहभागीता उपभोक्ताहरुको रहनेछ । उपभोक्ताले गर्नुपर्ने वितरण लाइन खन्ने र पुर्ने कामका लागि बेनी नगरपालिका र रघुगंगा गाउँपाकिलाले स्रोत सुनिश्चतता गरेका छन् ।
म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर) ले करिब एक दशकको प्रयासमा घोप्टेखोला खानेपानी योजना कार्यान्वयनमा आएको बताए ।
‘४८ करोड लागत अनुमान गरिएको योजनालाई खानेपानी मन्त्रालयले वार्षिक कार्यक्रममा समावेश गरेपनि डिपिआर स्वीकृत र बजेटको स्रोत सुनिश्चितता नुहँदा कार्यान्वयन हुन सकेको थिएन,’ उहाँले भन्नुभयो ‘२०८० फागुनमा अर्थ मन्त्रालयले ३७ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चितता गरेपछि ठेक्का आव्हान गरेर कार्यान्वयन सुरु भएको हो ।’


319 पटक हेरिएको 

