काठमाडौं : राजावादीले शुक्रबार गरेको आन्दोलनका क्रममा तीनकुने क्षेत्रमा तोडफोड र फोहोर गरेको लगायत विभिन्न शीर्षकमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाले जरिवाना तोकेको छ। ज्ञानेन्द्र शाह, निर्मल निवास काठमाडौंका नाममा महानगरका ८ जना नगर प्रहरीले शनिबार ८ वटा बेग्लाबेल्लै पत्र काटेर कुल ७ लाख ९३ हजार जरिवाना तोकेका हुन्।
शनिबार काठमाडौं महानगरपालिकाको टोलीले तीनकुने-कोटेश्वर-जडिबुटी क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरेको थियो। उक्त विवरण संकलन गरी लाग्ने खर्च र सरसफाइको शुल्क पनि पूर्वराजा शाहबाटै असुल गराउने निर्णय भएको हो।
तीनकुने क्षेत्रमा शुक्रबारको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो। प्रदर्शनकारीहरूले पार्टी कार्यालय, निजी घर, सुपरमार्केट, सञ्चार गृह, जडिबटी प्रशोधन केन्द्र र सरकारी गाडीमा आगजनी गरेका थिए।
प्रसाईंले आह्वान गरेको प्रदर्शनलाई नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति, राप्रपा र राप्रपा नेपालले पनि समर्थन जनाएका थिए।
शुक्रबारको घटनापछि प्रसाईं फरार छन्। प्रदर्शनमा पुगेका राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका सदस्य सचिव राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको थियो।
फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा त्रिभुवन विमानस्थलदेखि स्वागत र प्रदर्शनका क्रममा फोहोर र महानगरका संरचनामा क्षति पुर्याएकोमा राप्रपालाई एक लाख रुपैयाँ जरिवाना तोकेको थियो। सांसद ज्ञानेन्द्र शाहीले महानगरमा पुगेर जरिवाना तिरेका थिए।
दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शनकारीहरूले पनि प्रहरी घेरा तोडेपछि तितरबितर बनाउन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। त्यसपछि प्रदर्शनकारीहरूले निजी घरमा तोडफोड र आगजनी गरेका थिए।
आगो निभाउन गएको काठमाडौं महानगरको दमकललाई पनि ढुंगा प्रहार गरेका थिए। प्रदर्शनकारीहरूले महानगरका विभिन्न संरचना, दमकल, अग्नि नियन्त्रकहरूमाथि प्रहार गरेकोमा महानगरले पूर्वराजा शाहलाई जरिवाना लगाउने निर्णय गरेको हो।