काठमाडौ : सरकारले खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत रहेको राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रलाई खानेपानी मन्त्रालय मातहतमा ल्याएको छ ।
खानेपानी मन्त्रालय र अन्तर्गतको निकायहरुको नयाँ संगठन संरचनामा राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रलाई मन्त्रालय मातहतमा ल्याई यसको दायरालाई समेत फराकिलो बनाएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.राम कुमार श्रेष्ठले जानकारी दिनुभयो।
उहाँका अनुसार खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रको नाम समेत परिर्वतन गरिएको छ । अब प्रशिक्षण केन्द्रको नाम ‘राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र’ रहनेछ ।
केन्द्रको दरबन्दी विवरण
क्षमता अभिवृद्धि केन्द्रको दरबन्दी ७ जना तोकिएको छ ।
सु.ई. रा.प.प्र. (प्रा.) १ जना
सिडिई रा.प.द्धि. १ जना
इन्जिनियर रा.प.तृ. १ जना
ले.अ.रा.प.तृ. लेखा १ जना
समाजशास्त्री रा.प.तृ. १ जना
नायब सुब्बा (रा.प.अनं. प्र) एक जना
र केमिष्ट (रा.प.अनं.प्र) १ जना
सन् १९८३ देखि UNDP, WHO, UNICEF जस्ता राष्ट्र संघीय संस्थाहरूको आर्थिक तथा प्राविधिक सहयोगमा जनसाधन विकास एकाईको रूपमा स्थापना भई हाल राष्ट्रिय स्तरको प्रशिक्षण केन्द्रको रूपमा सञ्चालितराष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्र खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतको खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रका सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्ने निकायको रूपमा परिचित छ ।
क्षेत्रगत तालिम सम्वन्धी अनुसन्धान र प्रशिक्षणको माध्यमबाट WASH क्षेत्रका संघ-संस्थाहरू, सरोकारवालाहरू उपभोक्ताहरू र निर्वाचित जनप्रतिनिधिहरुको क्षमता विकास, नवीनताको प्रवर्द्धन तथा प्रविधिको विकास गर्ने सोच सहित प्रशिक्षण केन्द्र क्षमता अभिवृद्धि, अनुसन्धान, साझेदारी विकास र सञ्जाल निर्माण तर्फ क्रियाशिल छ ।
नेपाल सरकार मन्त्रीपरिषद बैठकले यही चैत्र ११ गते खानेपानी मन्त्रालय र अन्तर्गतको निकायहरुको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गरेको थियो ।