सिरहा : सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ३ स्थित बुढी जमदह खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गरिएको छ । Welthunger Hilfe (WHH) को साझेदारी र गोलबजार नगरपालिकाको समन्वयमा सबल नेपालद्वारा सञ्चालित वाश सुशासन सुदृढीकरण कार्यक्रम अन्तर्गत खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गरिएको सबल नेपालका परियोजना संयोजक शैलेन्द्र चौधरीले जानकारी गराउनुभयो।
गोलबजार नगरपालिका, सबल नेपाल र स्थानीय समुदायको संयुक्त लगानीमा बन्न लागेको खानेपानी आयोजनाको बुढी जमदह खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लाल गोविन्द लामा, गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठ र गोलबजार नगरपालिकाका वडा नम्बर ३ का अध्यक्ष धन प्रसाद लामाले संयुक्त रुपमा शिलान्यास गर्नुभयो।
कुल ७१ लाख ९१ हजार ६ सय ५९ रुपैयाँ ६५ पैसाको लागतमा निर्माण हुने खानेपानी आयोजनाको लागि सबल नेपालको तर्फबाट ६० लाख ६१ हजार ३ सय १६ रुपैयाँ २७ पैसा लगानी गरिने सबल नेपालका परियोजना संयोजक चौधरीले जानकारी गराउनुभयो।
यस्तै नगरपालिकाको तर्फबाट ५ लाख १७ हजार ८ सय ८ रुपैयाँ ३४ पैसा लगानी गर्ने र सामुदायको तर्फ बाट ६ लाख १२ हजार ५ सय ३५ रुपैयाँ ४ पैसा बराबरको श्रमदान गर्ने समझदारी पत्रमा तीनै पक्षले हस्ताक्षर गरिएको उहाँले बताउनुभयो । श्रमदान अन्तर्गत समुदायले पाइपलाइन विछ्याउन पाइपको कुलो खन्ने, पूर्ने, खाल्डो खन्ने र पाइप बिछ्याउने आदि काम गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
खानेपानी आयोजना सम्पन्न भएपछि एक बिद्यालय सहित ८२ सुरक्षित खानेपानीको पहुँच पुग्नेछ । सबै पक्षले आ आफ्नो भूमिका निर्वाह ग¥यौं भने मात्र खानेपानी आयोजना समयमै सम्पन्न हुने नव गठित बुढी जमदह खानेपानी उपभोक्ता समितिका अध्यक्ष लाल गोविन्द लामाले बताउनुभयो। उहाँले उपभोक्ता समितिको तर्फबाट गर्नुपर्ने दायित्वबाट पछि नहट्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।