काठमाडौ : खानेपानी मन्त्री प्रदीप यादव नेतृत्वको टोलीले आज खानेपानी मन्त्रालय अन्तर्गतका विभाग, समिति तथा कार्यालयहरूमा छड्के अनुगमन गरेको छ । टोलीले खानेपानी तथा ढल व्यवस्थापन विभाग र मेलम्ची खानेपानी विकास समिति अन्तर्गतका सम्पूर्ण शाखाहरूको स्थलगत निरीक्षण गरेको हो ।
सो क्रममा मेलम्ची खानेपानी विकास समितिमा १६ जना कर्मचारी अनुपस्थित रहेको भेटिएको खानेपानी मन्त्रालयले जनाएको छ। कर्मचारीहरू कार्यालयमा अनुपस्थित रहने, समयको पालना नगर्नेजस्ता गुनासाहरू व्यापक रूपमा उठिरहेकाले छड्के अनुगमन गरिएको खानेपानी मन्त्री प्रदीप यादवले बताउनु भएको छ ।
अनुगमनका क्रममा मन्त्री यादवले कर्मचारीहरूको अनिवार्य समय पालना र नियमित उपस्थितिको व्यवस्था सुनिश्चित गर्न, बिद्युतिय हाजिरी प्रणाली लागू गर्न तथा कार्यालय समयभित्र कार्य बाहेक बाहिर जानुपर्ने अवस्था आएमा लकबुक प्रणाली अनिवार्य रूपमा सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनु भएको छ ।
त्यसैगरी उपस्थित कर्मचारीहरूसँग कर्मचारीहरुले भोगिरहेको अवरोध, समस्या र चुनौतीहरू बारे पनि जानकारी लिएको मन्त्री यादवले बताउनुभयो । यसबाट संस्थागत सुधारका उपायहरू अवलम्बन गर्न मार्ग प्रशस्त हुने उहाँको विश्वास छ ।
छड्के अनुगमनमा खानेपानीमन्त्री यादव सँगै खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य (बज्राचार्य) खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.राम कुमार श्रेष्ठ लगायत हुनुहुन्थ्यो।