
जुम्ला : खानेपानीमन्त्री प्रदीप यादवले जुम्लाको धौलिगढ खानेपानी तथा सरसफाइ आयोजनाको निरीक्षण गर्नु भएको छ। हेमा गाउँपालिका–१, देवारगाउँमा आयोजना हुने वास सम्मेलनमा सहभागिता जनाउन जुम्ला पुग्नु भएका मन्त्री यादवले १५ बर्षअघि शुरु भई निर्माणाधीन अवस्थामा रहेको खानेपानी आयोजनाको निरिक्षण गर्नु भएको हो।
तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जुम्लाले आर्थिक वर्ष ०६६/६७ देखि धौलिगढ खानेपानी आयोजना सुरु गरेको थियो।

तत्कालीन संघीय मामिला तथा कानुनमन्त्री नरेश भण्डारी पहिलो संविधानसभा सभासद हुँदा तत्कालीन केन्द्रीय सरकारसँग पहल गरी अयोजना सुरुवात भएको थियो।
संघीयतापछि उक्त आयोजना संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना मातहतमा ल्याइएको भए पनि तदारुकता साथ काम हुन सकेको छैन। एक अर्ब ४२ करोड लागतमा निर्माण भैरहेको यो आयोजनाको कतिपय संरचना हरु जीर्ण अवस्थामा पुगिसकेको छ।
हरेक वर्ष प्राविधिक स्टिमेट परिवर्तन भैरहने, आयोजना स्थलसम्म सडक सञ्जाल नपुग्दा सामग्री ढुवानीमा समेत समस्या हुने र सामग्री मजदुर मार्फत बोकेर ढुवानी गर्नुपर्ने भएकाले बजेट फ्रीज हुने लगायत कारणले खानेपानी आयोजना निर्माणमा ढिलाई भएको सम्बन्धित पक्षले जनाएको छ।
बृहत् धौलिगढ खानेपानी आयोजनाबाट तत्कालीन प्राविधिक स्टिमेट अनुसार तातोपानी र गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाका ४३ हजार ५ सय ५५ जना उपभोक्ता लाभान्वित हुनेछन् ।

मन्त्री यादवले खानेपानी क्षेत्रको विद्यमान समस्या र त्यसका समाधानका उपायहरू पहिचान गर्न मन्त्रालय तथा विभागीय टोलीले जुम्लाको भ्रमण तय गरिएको बताउनु भयो।

उहाँले यो भ्रमणमा सामुदायिक बिद्यालय र जनसमुदायले भोग्दै आएको खानेपानी लगायत विविध समस्याबारे प्रत्यक्ष जानकारी हासिल गर्ने मौका मिलेको बताउनु भएको छ।


475 पटक हेरिएको 

