श्रमदान नगर्दा धारा जोडेको दुई बर्ष वित्दा पनि पानी आएन

  वास खबर सम्बाददाता  393 पटक हेरिएको

गोरखा : गोरखाको गण्डकी गाउँपालिका-६ बनटारस्थित चेपाङ बस्तीको खानेपानी आयोजना तीन वर्षदेखि अलपत्र परेको छ। गण्डकी प्रदेश सरकारको ‘एक घर, एक धारा’ अभियान अन्तर्गत बनटारमा आर्थिक वर्ष २०७८/७९ देखि आयोजनाको काम सुरु भएको थियो।

आयोजना अन्तर्गत दुई वर्षअघि नै संरचना निर्माण सम्पन्न भइसके पनि हालसम्म धारामा पानी भने नआएको स्थानीय बिन्दास चेपाङले बताउनुभयो। हरेक वर्षको सुख्खायाममा गाउँमा खानेपानीको हाहाकार मच्चिने गरेको उहाँले बताउनुभयो । घरमा धारा जोडेको दुई वर्ष भइसक्यो तर पानी छैन। पाहुना आउँदा दिने पानी पनि हुँदैन उहाँले भन्नुभयो।

बनटारवासीले हाल खानेपानीको ट्याङ्कीमा जम्मा भएको धमिलो पानी खाएर गुजारा चलाइरहेका बिन्दासले जानकारी दिनुभयो। ‘रिजर्भ ट्याङ्कीमा जम्मा भएको पानी पाइप टाँगेर खाएका छौँ,  कहिलेकाहीँ पानीको निहुँमा गाउँमा झगडा हुन्छ। पानी पर्दा पाइपमा भल पस्छ।’ उहाँले भन्नुभयो ‘धारामा पानी आए आनन्द हुन्थ्यो। कसैसँग झगडा गर्नुपर्दैनथ्यो।’

गाउँमा खानेपानीको व्यवस्था नहुँदा बनटारका ५५ परिवारले कुवाको धमिलो पानी खान बाध्य भएका बनटार खानेपानी उपभोक्ता समितिका सचिव धनबहादुर गुरुङले बताउनुभयो। रकम अभाव तथा स्थानीयले श्रमदान नगरेकाले निर्मित आयोजनाले पूर्णता पाउन नसकेको उहाँको भनाइ छ।

‘खानेपानीको ट्याङ्की, धारा लगायत संरचना निर्माण भएर पनि आयोजना अलपत्र अवस्थामा छ’ गुरुङले भन्नुभयो ‘यो आयोजना पहिले नै सम्पन्न भइसक्नुपर्ने थियो। हामीसँग बजेट अभाव छ, यहाँका चेपाङ समुदायबिना पैसा काम गर्न खोज्दैनन् त्यसैले अहिलेसम्म नबनेको हो।’

चेपाङ समुदायले श्रमदान गरी सहयोग गर्नुपर्नेमा सचिव गुरुङले जोड दिनुभयो । ‘यहाँ खानेपानीको धेरै समस्या छ। त्यसैले जिल्लाबाट एक घर, एक धारा खानेपानी आयोजना सञ्चालन भएको थियो। स्थानीयले श्रमदान नगरेपछि रकम अभावले काम रोकिमएको हो’ उहाँले भन्नुभयो ‘अहिले गाउँले स्वच्छ खानेपानीबाट वञ्चित छन्। निर्माण सम्पन्न भइसकेको खानेपानीको मुहान पनि हाल जीर्ण अवस्थामा छ।’

खानेपानी समितिले आवश्यक समन्वय गरे पनि चेपाङ समुदायका कोही पनि श्रमदानका लागि तयार नभएका गुरुङले बताउनुभयो। उहाँले भन्नुभयो ‘यहाँ ५५ घरधुरीमा ७० प्रतिशत चेपाङ छन्। उनीहरू पैसा नभए काम गर्नुहुँदैन, त्यसैले पनि समस्या भएको हो।’

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका सबइञ्जिनियर दीपक खनालले रकम अभाव तथा स्थानीयले श्रमदान नगरेकाले आयोजना सम्पन्न हुन नसकेको बताउनुभयो।

‘खानेपानी आयोजनामा पानी वितरणको काम श्रमदानबाट गर्नुपर्ने प्रावधान छ। यहाँ संरचना निर्माण सम्पन्न भई भुक्तानी समेत भइसकेको छ। श्रमदानको पाटोले गर्दा रोकिएको हो’ उहाँले भन्नुभयो। कार्यालयले स्थानीयहरूसँग आवश्यक समन्वय गरी चालु आर्थिक वर्षभित्र आयोजनालाई पूर्णता दिने गरी काम गरिरहेको खनालले बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार