फोहरमैला व्यवस्थापन कार्यविधि निर्माणका लागि पालिका स्तरीय कार्यशाला

  वास खबर सम्बाददाता  1143 पटक हेरिएको

सिरहा : सिरहा जिल्लाको सिरहा नगरपालिकामा फोहरमैला व्यवस्थापन कार्यविधि निर्माण तथा पानीको गुणस्तरीय अनुगमन कार्यविधिको प्रारम्भिक तयारीका लागि पालिका स्तरीय कार्यशाला गोष्ठि सम्पन्न भएको छ।

वेल्थहंगरहिल्फे (WHH) को साझेदारीमा तथा स्थानीय तहहरु सँगको समन्वयमा सबल नेपालद्वारा सञ्चालित खानेपानी तथा सरसफाइ सुदृढीकरण परियोजनाको कार्यक्रम अन्तर्गत आयोजित उक्त कार्यशालाको नेतृत्व नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत मो. इद्रिश राईनले गर्नुभएको थियो। कार्यक्रममा नगरपालिकाका सबै वडाका वडा अध्यक्षहरू, विभिन्न शाखाका प्रमुखहरू तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यशालाको सहजीकरण सबल नेपालका वास फोकल पर्सन परमेश्वर झाले गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै सरसफाइ फोकल पर्सन सुरेश यादवले संघीय सरकारको आर्थिक सहयोगमा वडा नं २ र १४ मा निर्माणाधीन ल्याण्डफिल्ड साइटलाई प्रभावकारी सञ्चालनमा ल्याउन आवश्यक रहेको फोहरमैला व्यवस्थापन कार्यविधि निर्माणको आवश्यकता र प्राथमिकताको विषयमा प्रकाश पार्नुभएको थियो। करीब १२ करोड रुपैयाँको लागतमा निर्माणाधीन सो ल्याण्डफिल्ड साइटले नगरपालिकाको दीर्घकालीन फोहर व्यवस्थापन योजना कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सो अवसरमा फोहरमैला व्यवस्थापन कार्यविधिको प्रारम्भिक मस्यौदा सहभागीहरू माझ प्रस्तुत गरि विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले आ(आफ्ना धारणा तथा सुझावहरू राखेको र संकलित सुझावको समायोजनपछि कार्यविधिको अन्तिम मस्यौदा तयार पारि कार्यपालिकाको बैठकमा पेश गरि अनुमोदन प्रक्रिया अघि बढाइने जानकारी गराइएको छ।

यसै कार्यशालामा नगरपालिकाले सञ्चालन गरिरहेको पानी परीक्षण प्रयोगशालाको गुणस्तरीयता अभिवृद्धि तथा प्रभावकारी अनुगमनका लागि आवश्यक कार्यविधि निर्माण सम्बन्धमा समेत छलफल गरिएको थियो। सबै वडाका प्रतिनिधिहरुलाई एक(एक प्रति कार्यविधिको प्रारम्भिक प्रस्ताव वितरण गरि सुझाव संकलन गरिएको छ।

नगर प्रमुख प्रशासनिक अधिकृत राईनले नगरपालिका क्षेत्रका जनतालाई सुरक्षित र स्वच्छ पानी उपलब्ध गराउनु प्राथमिक दायित्व भएको उल्लेख गर्दै भविष्यमा हरेक पानी स्रोतको नियमित परीक्षण गरी गुणस्तरको अभिलेख राख्ने तथा पानीको गुणस्तर सुधार्नका लागि आवश्यक कदम चालिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

हाल नगरपालिकाको पाँच वडा शहरी क्षेत्र र बाँकी ग्रामिण क्षेत्र रहेका छन्। शहरी क्षेत्रमा खानेपानी व्यवस्था सुदृढीकरणका लागि विगतमा निर्माण गरिएको २ लाख लिटर क्षमता भएको खानेपानी आयोजना निकट भविष्यमा नगरपालिका मार्फत सञ्चालनमा ल्याइने र बजार क्षेत्रमा सुरक्षित खानेपानी वितरण गरिने योजना समेत अगाडि सारिएको छ।

सबल नेपालले वेल्थहंगरहिल्फेको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१८ देखि सिरहा नगरपालिका सहित कर्जन्हा नगरपालिका, गोलबजार नगरपालिका, कल्याणपुर नगरपालिका र विष्णुपुर गाउँपालिकामा खानेपानी, सरसफाइ तथा स्वच्छता सुदृढीकरणका विविध कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ। यी कार्यक्रमहरू मार्फत स्थानीय तहमा दीर्घकालीन सेवा स्थायीत्व, समावेशी पहुँच र प्रणालीगत सुदृढीकरणमा महत्वपूर्ण टेवा पुगिरहेको छ।

स्थानीय सरकार र साझेदार संस्थाहरूको संयुक्त प्रयासले सिरहा जिल्लामा सुरक्षित खानेपानी तथा फोहर व्यवस्थापन प्रणाली मजबुत बनाउने दिशामा ठोस उपलब्धि हासिल हुँदै गएको देखिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार