
काठमाडौ : नेपाल कम्पोस्ट कन्सोर्टियमको आयोजनामा “नेपाल कम्पोस्ट सचेतना सप्ताह २०८२” काठमाडौंमा सुरु भएको छ। कम्पोस्टिङ तथा फोहर व्यवस्थापन क्षेत्रमा कार्यरत विभिन्न व्यवसायी, विज्ञ, स्थानीय तह, शैक्षिक संस्थाहरु र सरोकारवाला निकायहरूको सहकार्यमा सञ्चालित यो सप्ताह जनचेतना अभिवृद्धि, व्यवहार परिवर्तन र स्थायी समाधान प्रवर्द्धन गर्ने उद्देश्यका साथ अघि बढाइएको हो।
यस अघि अन्तर्राष्ट्रिय कम्पोस्ट सप्ताह विगत २६ वर्षदेखि प्रत्येक वर्ष मे महिनाको दोस्रो साता विश्वव्यापी रूपमा मनाइँदै आएको छ। यही सन्दर्भमा नेपालमा पहिलोपटक, नेपाल कम्पोस्ट कन्सोर्टियमले बैशाख २१ गतेदेखि २७ गतेसम्म विविध कार्यक्रमसहित काठमाडौंका विभिन्न स्थानहरूमा “नेपाल कम्पोस्ट सचेतना सप्ताह” मनाइरहेको छ।
कम्पोस्ट सचेतना र्याली बाट शुभारम्भ
कार्यक्रमको प्रारम्भ बैशाख पहिलो दिन आज बिहान ७ बजेदेखि ९ बजेसम्म कीर्तिपुरदेखि बसन्तपुरसम्म कम्पोस्ट सचेतना र्याली सहित गरिएको हो। र्यालीमा कम्पोस्ट तथा जैविक फोहर व्यवस्थापनमा संलग्न सरकारी, गैरसरकारी, शैक्षिक र नागरिक समाजका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
यस वर्षको सप्ताहको अंग्रेजी नारा दिगो समाजहरू कम्पोस्टबाट सुरु हुन्छन् (For a Better Planet, Start Composting) भन्ने सन्देश सहित प्रस्तुत गरिएको छ। उक्त नारा मार्फत प्रत्येक नागरिकलाई घर, विद्यालय, कार्यालय तथा उद्योगमा उत्पादन हुने जैविक फोहरलाई जिम्मेवार रूपमा व्यवस्थापन गर्दै कम्पोस्ट उत्पादनमा संलग्न हुन प्रेरित गरिने अपेक्षा गरिएको छ।
सप्ताह भरि जागरण कार्यक्रम
सप्ताहभर सञ्चालन हुने प्रमुख कार्यक्रमहरूमध्ये सामुदायिक सचेतना अभियान, सामाजिक सञ्जाल सचेतना अभियान, कम्पोस्ट प्रदर्शनी, अन्वेषणात्मक प्रतियोगिता, तालिम तथा कार्यशालाहरू, विद्यालय तथा विश्वविद्यालय स्तरीय संवाद सत्र, फील्ड भिजिट तथा कम्पोस्ट प्लान्ट अवलोकन भ्रमणहरू रहेका छन्।
कम्पोस्ट कन्सोर्टियमले यस अभियानलाई दीर्घकालीन प्रतिबद्धता मानेर स्थानीय तह, व्यवसाय, शैक्षिक संस्था तथा नागरिक समाजसँग सहकार्य गर्दै व्यवहारिक रूपमा कार्यान्वयन गरिने स्पष्ट पारेको छ।


410 पटक हेरिएको 

