काठमाडौ : काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौँको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरेको छ ।
आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौँ महानगरपालिका–१६ अन्तरगत बालाजु, बसपार्क, चापाकोट, च्याङली, लाजिमपाट, बेलकोटे, शिवपुरी, खोकन तथा नागार्जुन नगरपालिका अन्तरगतको वडा नं १ र २ का कागेश्वरी मनोहरा, नागार्जुन वन, वृन्दावन महादेव लगायतका क्षेत्रमा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरेको हो ।
काठमाडौँ उपत्यकामा पानीको आपूर्तिमा थप सुधार गर्नु र नागरिकलाई सफा र प्रशोधन गरिएको पानी उपलब्ध गराउने उदेश्यले बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरिएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख टीकाबहादुर चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुुभयो, “काठमाडौँ उपत्यकामा मेलम्चीको पानी बितरण गर्ने अभियान र मन्त्री ज्युको निर्देशन पश्चात हामीले उक्त कार्यका लागि बोलपत्र समेत आह्वान गरेका छौँ । नागरिकलाई सफा र प्रशोधन गरिएको पानी उपलब्ध गराउने हाम्रो उदेश्य हो ।”
वितरण सञ्जाल सुधार कार्य, रिङ रोड, बलाजु अन्तरग कुल पाइप लम्बाइ तीन हजार आठ सय ११ मिटर रहने जनाइएको छ । बालाजु ट्याङ्कीबाट नागरिकलाई सफा र प्रशोधन गरिएको पानी आपूर्ति गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय ल जनाएको छ ।
पानीको वितरणमा आएको ढिलाइलाई अब अन्त्य गर्दै, काठमाडौँमा पानीको आपूर्ति प्रक्रिया व्यवस्थित रूपमा अघि बढाइ काठमाडौँ उपत्यका भित्रको पानी सङ्कटलाई एक हदसम्म समाधान गर्न मद्दत पुर्याउने खानेपानी मन्त्रालयले जनाएकोे छ ।
उक्त प्रक्रिया सूचारुसँगै काठमाडौँ महानगरपालिका बालाजु र नागार्जुन नगरपालिकाका नागरिकहरूले आगामी दिनहरूमा नियमित रूपमा मेलम्चीको प्रशोधित पानी प्राप्त गर्ने छन् । साभारः गोरखापत्र ।