
मार्तडी : हरेक बिहान सुर्य पूर्वबाट उदाउँछ । उस्तै उज्यालो, उस्तै आशा लिएर । तर मार्तडीमा त्यो उज्यालो, न आत्मामा सान्त्वना बोकेको छ, न जीवनमा सहुलियत । त्यो त संकेत हो, आज पनि पानीका गाग्री बोकी पराल झैँ जिउ बनाएर उकालो-ओरालो पार गर्नु पर्ने पीडाको ।
पछिल्लो समय परेको लामो खडेरीका कारण मार्तडीका पानीका मुहानहरू धमाधम सुक्न थालेका छन् । जीवनका सबै काम थाति राखेर, बिहान–बेलुका गाग्री, जर्किन, बाल्टिन र टिन लिएर स्थानीयवासी पानीको खोजीमा पाइला चाल्न बाध्य छन् । भम्क, थापाबाडा, पानीपाल, बाउली जस्ता वडाका बासिन्दाहरू हरेक दिन बिहानको आशा लिएर उठ्छन्, तर घर फर्किँदा थकान, रित्तो गाग्री र अधुरो भरोसा मात्र लिएर फर्कन्छन् ।
स्थानीय जसबहादुर विकको अनुभव दर्दनाक छ “हरेक वर्ष चैतदेखि जेठसम्म पानीको समस्या चलिरहन्छ । तर समाधानको खोजी चाहिँ अझै अधुरै छ ।” करिब एक महिनादेखि पानीको आपूर्ति झनै न्यून हुँदै गएको बताउनुहुन्छ उहाँ ।
यसै बीच, मार्तडी बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र बडीमालिका नगरपालिकाबीचको समन्वय अभावले समस्या झन जटिल बन्न पुगेको छ । स्थानीयहरू आश्वासनहरूमा भन्दा पनि स्थायी समाधानको पक्षमा छन् ।
यता बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर माझीको भनाइमा भने केही आशा पलाएको देखिन्छ । उहाँका अनुसार, डिभिजन खानेपानी कार्यालयसँग सहकार्य गर्दै प्राविधिक जनशक्ति परिचालन गरिएको छ । “चालु आर्थिक वर्षभित्र बजार क्षेत्रमा शुद्ध पानी पुर्याउन हाम्रो स्पष्ट लक्ष्य छ,” उहाँले बताउनुभयो ।
मार्तडी बृहत खानेपानी कार्यालयका व्यवस्थापक कर्णबहादुर रावलले हाल करिब ६ सय घरधुरीका धारामा दिनको केवल एकपटक, त्यो पनि एक घण्टा मात्रै पानी प्रवाह भइरहेको जानकारी दिनुभयो । तर उहाँले आशावादी स्वरमा थप जानकारी दिनुभयो “डोटी डिभिजन खानेपानी कार्यालयको ५० लाख रुपियाँको सहयोगमा झाल्ले नौलाबनबाट पानी आपूर्ति गर्ने योजना अन्तिम चरणमा छ ।”
पाइपलाइनको करिब साढे दुई किलोमिटर क्षेत्रमा खनाइ कार्य सम्पन्न भइसकेको छ । आधुनिक मिटर प्रणालीमार्फत नियमित पानी वितरणको तयारी समेत भइरहेको उहाँले बताउनुभयो ।
यद्यपि योजना अन्तिम चरणमा पुगेको भनिए पनि, अहिलेको वास्तविकता भने अझै कठिन छ । दिनहुँ टाढा-टाढाबाट पानी बोकेर ल्याउने बाध्यता अन्त्य नहुँदासम्म मार्तडीबासीको दैनिकतालाई सहज भन्न सकिँदैन ।
यहाँ पानी अब केवल एक तरल पदार्थ होइन, यो संघर्षको पर्याय बनेको छ । एउटा एक घण्टाको पानी, जसले पूरा दिनको आशा बोक्छ ।


286 पटक हेरिएको 

