
काभ्रे : काभ्रेको बेथानचोक गाउँपालिका–३ स्थित कुनेखर्ककी आमा सोमकुमारी तिमल्सिना एक बिहान उठ्नु भयो, तर हातमा गाग्रो समातेर पानी खोज्न कुन दिशातिर लाग्ने भन्ने अन्योलले वहाँको मन थामिएन । जताततै पहिरो, टुटेका बाटा, र ओसिलो थलो । असोज महिनाको त्यो कहालीलाग्दो बाढीले गाउँको एकमात्र खानीपानीको मुहान बगाएर लगेको थियो । त्यसपछिका आठ महिना कुनेखर्कका लागि जीवनकै सबभन्दा कठोर परीक्षा थिए ।
“पानी खोज्न धेरै ठाउँमा धाइयो,” वहाँले भावुक हुँदै सम्झनु भयो, “खोल्साको पानी उभाएर समेत खाएका थियौं ।” यो कथन सायद त्यत्तिकै भन्न सकिने कुरा होइन । यो अनुभव हो, शुद्ध पानीको लागि गरिएको एक–एक पाइला, चिसो भेलपारी झुकेर भरेको गाग्रो, अनि परिवारलाई सिँच्ने आँशुहरूकै कथा हो यो ।
तर आज… कुनेखर्कमा धारामा बगिरहेको पानीको आवाज केवल पानीको होइन, पुनःस्थापित भएको आशाको आवाज हो ।
गत असोज १०, ११, १२ मा आएको भीषण अविरल वर्षाले बेथानचोक गाउँपालिका–३ स्थित कुनेखर्कको खानीपानी तथा सरसफाइ आयोजनालाई क्षति पुर्याएको थियो । तर त्यस बिपत्तिलाई चुनौती दिएर, गाउँपालिकाको नेतृत्व, अक्सफामको साथ, र शान्ति जनआदर्श सेवा केन्द्रको प्राविधिक सहयोगमा मर्मत कार्य सम्पन्न गरियो ।
स्थानीय ज्ञानु तिमल्सिनाले बताउनु भयो, “यहाँ पहिल्यैदेखि नै पानीको समस्या थियो, तर असोजको बाढीपछि त बिहानै पानीको जोहो गर्नै पर्थ्यो । भान्सामा, गाईबस्तुमा, सफाइमा पानीबिनाको कुनै क्षण नै थिएन ।”
१६ लाख ४२ हजार ७ सय ४० रुपैयाँको लागतमा सम्पन्न यस आयोजनाले आज ११३ घरधुरीमा सहज रुपमा पानी पुर्याएको छ । बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष कुबेर ढकालले जानकारी गराउनु भयो कि यस आयोजनाले गाउँमा नयाँ ऊर्जा भरेको छ ।
गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले बताउनु भयो, “धेरै दुःखका साथ पानीको सुविधा पुनः ल्याइएको हो, यसको सदुपयोग गर्नु अब सबैको जिम्मेवारी हो ।”
यस मर्मत कार्यका लागि गाउँपालिकाबाट ४ लाख २७ हजार २ सय ६५ रुपैयाँ, अक्सफामबाट ११ लाख रुपैयाँ, शान्ति जनआदर्श सेवा केन्द्रबाट प्राविधिक सहयोग, र स्थानीय श्रमदानबाट १ लाख १५ हजार ४ सय ७५ रुपैयाँ बराबरको योगदान प्राप्त भएको उपभोक्ता समितिका सचिव सुदर्शन थापा मगरले बताउनु भयो ।
शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामाले भन्नु भयो, “वर्षौंदेखि खानीपानीको अभाव व्यहोर्दै आएको यो गाउँमा, आजको दिनले गाउँलेको अनुहारमा मुस्कान ल्याएको छ । हामीले यो काम सम्पन्न गरी समुदायलाई समर्पण गरेका छौं ।”
र अहिले बगिरहेको धाराको पानीमा ती आमाहरूको राहत मिसिएको छ जसले बिहानको चिया बनाउने पनि सपना जस्तै बनेको थियो । ती बच्चाहरूको खुसी मिसिएको छ जसले पहिलो पटक विद्यालय फर्किंदा सफा अनुहारमा पानीको स्पर्श पाए । र, मिसिएको छ, एक समुदायको आँसुले झोलिएको संघर्ष, जुन अब इतिहास हो, र प्रेरणा बनिसकेको छ ।


310 पटक हेरिएको 

