
जाजरकोट : नलगाड नगरपालिकाका विभिन्न बस्तीहरूमा सञ्चालित खानेपानी तथा सरसफाइ आयोजनामा इन-लाइन क्लोरिनेसन प्रणाली जडान कार्य सम्पन्न भएको छ।
गत डिसेम्बर महिनामा भूकम्प प्रभावित क्षेत्रका समुदायलाई लक्षित गर्दै युनिसेफ र सोसेक नेपालको सहकार्यमा सञ्चालित Earthquake Recovery Program अन्तर्गत नलगाड नगरपालिकामा निर्माण गरिएको खानेपानी, सरसफाइ तथा स्वच्छता पूर्वाधारमा इन-लाइन क्लोरिनेसन प्रणाली जडान गरिएको हो।
पछिल्लो चरणमा सञ्चालित ‘लाइट फलो-अप कार्यक्रम’ अन्तर्गत सुरक्षित पानी आपूर्तिको सुनिश्चितता गर्न ८ वटा खानेपानी योजनामा इन-लाइन क्लोरोनेसन मेसिनहरू जडान गरिएको छ। स्थानीय भाषामा ‘रैन’ भनिने लाइम जमेको, र पाइपलाइन प्रदूषित हुने समस्या समाधान गर्दै, शुद्धिकरणका माध्यमबाट स्वच्छ पानी उपलब्ध गराउने कार्य तीव्र रूपमा अघि बढाइएको छ।

लाइट फलो-अप कार्यक्रमको मुख्य उद्देश्य सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्ने दिशामा स्थानीय प्रयासलाई मजबुत पार्नु हो। क्लोरिनेसन प्रणाली जडान भएपछि सुरक्षित खानेपानीको माध्यमबाट सरुवा रोगहरुमा कमी आउने अपेक्षा गरिएको छ।
स्थानीय बासिन्दाहरू, विशेषतः भूकम्पपछिको कठिन समय भोगेका समुदायका सदस्यहरू अहिलेको जीवनस्तर र उपलब्ध सेवाबाट अत्यन्त सन्तुष्ट देखिन्छन्। उनीहरू सुरक्षित खानेपानी र सरसफाइ सुविधाको पहुँचले जीवनस्तरमा देखिएको परिवर्तन प्रति आभारी छन्।
एक स्थानीय बासिन्दाले भने, “पहिलेको तुलनामा अहिले निकै सहज र सुरक्षित जीवन बाँच्न पाएका छौँ। हाम्रो परिवार र छोराछोरीहरू अब सुरक्षित पानी खान पाउँछन् भन्नेमा ढुक्क छौँ।”
नलगाड नगरपालिकाका बासिन्दाहरूले पुनःनिर्माण कार्यक्रमहरू अझ सशक्त रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रम अन्तर्गत १४ वटा खानेपानी योजना निर्माण तथा मर्मत गरिएको छ भने करिब १ हजार घरधुरीमा घरायसी शौचालय निर्माण गरिएको छ। साथै ८ वटा विद्यालयमा पनि खानेपानी तथा शौचालय पूर्वाधार निर्माण गरी सबै संरचना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ।


351 पटक हेरिएको 

