बृहत् धौलीगाड खानेपानी आयोजनामा आर्थिक अभाव

बजेट अभावले मुहानको काम रोकियो 

  वास खबर सम्बाददाता  296 पटक हेरिएको

जुम्ला : जुम्लाको सबैभन्दा ठुलो खानेपानी आयोजना बृहत् धौलीगाड खानेपानी आयोजनाको २२५ किलोमिटर क्षेत्रमा खानेपानीको पाइप बिछ्याइएको छ । सदरमुकाम खलङ्गासहित चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका र गुठीचौर गाउँपालिकामा पाइप बिछ्याउने काम तीव्र गतिमा भइरहेको हो ।

सङ्घीय खानेपानी तथा ढल निकास आयोजना जुम्लाका अनुसार पहिलो चरणको काममा जम्मा ७० किमी पाइप बिछ्याउनुपर्नेमा ६० किलोमिटर पाइप बिछ्याइएको छ । कार्यालयका प्रमुख इन्जिनियर कपिलप्रसाद मोचीका अनुसार दोस्रो चरणको काममा दुई सय किमी पाइप बिछ्याउनुपर्ने लक्ष्य अनुसार १६५ किमी क्षेत्रमा पाइप बिछ्याइएको छ ।

जुम्ला सदरमुकाममा समेत धमाधम पाइप बिछ्याइरहेको देखिन्छ । उहाँका अनुसार आयोजनाको समग्र वित्तीय प्रगति ६८.१६ प्रतिशत भएको छ । ७५ प्रतिशत भौतिक प्रगति भएको छ । दोस्रो चरणमा ६०.२९ प्रतिशत वित्तीय प्रगति र भौतिक प्रगति ७० प्रतिशत सम्पन्न भएको छ । सो बृहत् खानेपानी निर्माण कालिका एनभी कनकाई जेभीसँग सम्झौता भई काम भइरहेको छ ।

पहिलो चरणको काममा खानेपानीका १३ वटा ट्याङ्की छन् । जसमा छ वटाको काम सम्पन्न भएको छ । कार्यालयका अनुसार चन्दननाथ नगरपालिकामा छ वटामध्ये तीन वटाको काम सकिएको र अन्य काम भइरहेको छ । तातोपानी गाउँपालिकामा निर्माणाधीन पाँच वटा ट्याङ्कीमध्ये तीन वटाको काम सकिएको छ । यसै गरी गुठीचौर गाउँपालिका क्षेत्रमा रहेका दुई वटा ट्याङ्की निर्माणाधीन छन् ।

यसै गरी कार्यक्षेत्रका आठ हजार छ सय घरधुरीका धारामध्ये तीन हजार घरधुरीमा खानेपानीको धारा जडान भएको कार्यालयले जनाएको छ ।

बजेट अभावले मुहानको काम रोकियो 

कार्यालयका अनुसार धौलीगाड खानेपानीको मुहानको १० किलोमिटरको काममा समस्या भएको छ । कार्यालय प्रमुख ज्योतिषकुमार मिश्रका अनुसार सो क्षेत्रको कामका लागि १५ करोड बजेटको लक्ष्य रहेकामा तीन करोड मात्र प्राप्त भएकालेनिर्माणमा ढिलाइ भएको हो ।

एक अर्ब २६ करोड लगानीको उक्त आयोजना जुम्लाकै गौरवको आयोजना हो । सो बृहत् खानेपानी निर्माणको जिम्मा लिएका कालिका एनभी कनकाई जेभीका सञ्चालक दिपेश शाहका अनुसार सो क्षेत्रमा इन्टेकदेखि लिएर पाइपलाइन १० किमी विस्तारका साथै च्याम्बर निर्माणका कार्य रहेका छन् ।

हिमाली क्षेत्र भएकाले हिउँदे सिजनमा पाइपमा पानी नजम्ने खालको पाइप खरिद प्रक्रियामा रहेको छ । जुम्ला सदरमुकाम खलङ्गामा जनसङ्ख्या बढिरहेको र खानेपानीको अभाव भइरहेको समयमा यहाँका नागरिक धौलीगाड खानेपानीको प्रतीक्षा गरिरहको खबर गोरखापत्रले प्रकाशन गरेको छ। तातोपानी गाउँपालिका–१, बाइराकाका स्थानीय अहिले पनि नदीको पानी खान बाध्य छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार