खानेपानी उपभोक्ता संस्थाको चुनावमा दलिय प्रतिस्पर्धा, मानगढ खानेपानीमा एमालेकै दुई प्यानल भिड्दै

  वास खबर सम्बाददाता  512 पटक हेरिएको

विराटनगर : मानगढ खानेपानी आयोजना अन्तर्गतको विराटनगर खानेपानी उपभोक्ता संस्थाको नयाँ नेतृत्वका लागि आज दोस्रो पटक मतदान भइरहेको छ ।

उच्च अदालत विराटनगरले यस अघि भएको निर्वाचन परिणाम बदर गरेपछि ठिक १ वर्षपछि आज पुन मतदान भैरहेको हो । यस अघि मानगढ खानेपानी आयोजनाको नयाँ नेतृत्वका लागि २०८१ जेठ १९ गते निर्वाचन भएको थियो ।

नयाँ नेतृत्वका लागि लालमणि भट्टराई, रामबहादुर घिमिरे र दुर्गा चापागाईंको प्यानल चुनावी मैदानमा छ । भट्टराई र घिमिरे नेकपा एमालेका उम्मेदवार हुन् । चापागाईं नेपाली कांग्रेसको उम्मेदवार हुन् । भट्टराईलाई एमालेको विनोद ढकाल समूहले अघि सारेको हो । घिमिरे एमाले संस्थापन पक्षको उम्मेदवार हुन् । उनलाई माओवादी केन्द्रका केही नेताले सहयोग गरेका छन् ।

गत वर्ष एमालेको आधिकारिक उम्मेदवारका विरुद्ध लागेको भन्दै एमालेले महानगर कमिटी अध्यक्ष सागर थापालाई जिम्मेवारीबाट हटाएको थियो । थापा अहिले एमालेको मोरङ उपाध्यक्ष निर्वाचित भइसकेका छन् ।

२०८१ जेठ १९ मा भएको मतदान विवादित बनेपछि खसेको मतलाई नै गणना गर्नुपर्ने माग राख्दै दिव्यराज कट्टेल समेत तीन जनाले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । टंकप्रसाद खतिवडा समेत तीन जनाले पुनः मतदानको मागसहित रिट दायर गरेको थियो । गत फागुन २६ गते उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्द र विष्णुप्रसाद अर्यालको संयुक्त इजलासले खतिवडा सहितको मागदाबी अनुसार नयाँ नेतृत्वका लागि पुनः मतदान गर्न रिट जारी गरेको थियो ।

अदालतले २०८१ जेठ १९ जेठ बिहान ९ बजेको अवस्थाबाट पुनः प्रक्रिया सुरु गर्न रिट जारी भएको छ । अर्थात उम्मेदवार र मतदाता पुरानै रहने तर मतदान मात्रै पुनः गर्नु पर्ने भनेको थियो ।

निर्वाचन अधिकृत अधिवक्ता रुकमिणा नेपालका अनुसार निर्वाचनमा ५ हजार ९८८ उपभोक्ता मतदाता छन् । विराटनगर महानगरपालिका – १ पुष्पलाल चोकस्थित पूर्वाञ्चल विश्वविद्यालयको जनता क्याम्पसमा बिहान सवा ७ बाट सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार