
विराटनगर : मानगढ खानेपानी आयोजनाको व्यवस्थापन गरिरहेको विराट खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा नेकपा एमालेको विद्रोही समूहका उम्मेदवार लालमणी भट्टराई निर्वाचित भएका छन् ।
संस्थाको नेतृत्वका लागि भएको निर्वाचनमा एमालेको संस्थापन पक्षका उम्मेदवार रामबहादुर घिमिरे र कांग्रेस उम्मेदवार दुर्गा चापागाईलाई पराजित गर्दै भट्टराई निर्वाचित भएका हुन् । भट्टराईले १ हजार ८८९ मत प्राप्त गरे । वर्तमान अध्यक्षसमेत रहेका घिमिरेले १ हजार १५४ मत प्राप्त गर्दा चापागाईंले ६३५ मत प्राप्त गरिन् ।
कोशी प्रदेशमा नेकपा एमाले भित्र विद्रोही समूहको नेतृत्व विनोद ढकालले गरिरहेका छन् । कुनै समय प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय ढकाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समूहमा छन् ।
मानगढ खानेपानीमा आयोजनामा ५ हजार ९८८ उपभोक्ता मतदाता थिए । २ हजार २४ जना मतदान निर्वाचनमा सहभागी भएनन्, शनिबार भएको निर्वाचनमा ३ हजार ९६४ मत खसेको थियो ।
यसअघि २०८१ जेठ १९ गते सम्पन्न मतदान विवादित बनेपछि उच्च अदालत विराटनगरमा दुईवटा छुट्टाछुट्टै रिट दायर भएका थिए । दिव्यराज कट्टेल सहित तीन जनाले मतपेटिकामा खसेको मतलाई नै गणना गर्नुपर्ने माग गर्दै रिट दायर गरेका थिए । टंकप्रसाद खतिवडा सहित अन्य तीन जनाले पुनः मतदानको माग गर्दै रिट दायर गरेका थिए । अदालतले पुनः मतदान गर्न आदेश दिएको थियो ।


378 पटक हेरिएको 

