दिगो र समावेशी खानेपानी आयोजना सशक्त रूपमा अगाडि बढाउने खानेपानीमन्त्रीको उदघोष

  वास खबर सम्बाददाता  390 पटक हेरिएको

मकवानपुर : खानेपानी मन्त्री प्रदीप यादवले देशमा दिगो र समावेशी खानेपानी आयोजनाहरूलाई आगामी दिनहरूमा सशक्त रूपमा कार्यान्वयन गरिने बताउनु भएको छ । मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–१६ को बृहत शक्ति खानेपानी आयोजनाको उद्घाटन गर्नु हुँदै मन्त्री यादवले नेपाली नागरिकलाई सुरक्षित खानेपानी प्रदान गर्नका लागि सरकारले दिगो र समावेशी खानेपानी आयोजनाहरूलाई अझ सशक्त रूपमा अगाडि बढाउने बताउनुभयो।

“सरकार नेपाली नागरिकलाई स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि हरदम प्रयासरत रहेको छ। दिगो र समावेशी खानेपानी आयोजनाहरूलाई सशक्त रूपमा अगाडि बढाउनेछौँ” मन्त्री यादवले भन्नुभयो।

मन्त्री यादवले स्वच्छ, सुरक्षित र पर्याप्त मात्रामा खानेपानी प्राप्त गर्नु प्रत्येक नागरिकको मौलिक अधिकार हो भन्ने मान्यता अनुसार सरकारले खानेपानी क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको सूचीमा राख्दै आएको दाबी गर्नुभयो।

“सबैका लागि स्वच्छ पानी भन्ने दृष्टिकोणका साथ सरकार दिगो विकास लक्ष्य अनुरूप प्रत्येक नागरिकका घरसम्म सुरक्षित, गुणस्तरीय र पर्याप्त मात्रामा खानेपानी पुर्‍याउने लक्ष्यमा प्रतिबद्ध छ। खानेपानी तथा सरसफाइ क्षेत्रलाई सुदृढ, समावेशी र दीर्घकालीन समाधानमुखी बनाइने छ,” मन्त्री यादवले भन्नुभयो।

सो कार्यक्रमका विशिष्ट अतिथि एवं प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहले बृहत् शक्ति खानेपानी आयोजना हेटौँडा लगायत आसपासका हजारौँ घरधुरीमा स्वच्छ र सुरक्षित पानी पुर्‍याउने गहिरो सोच र दीर्घकालीन योजनाको मूर्तरूप भएको बताउनुभयो।

यस्तै खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले खानेपानी तथा सरसफाइको दिगो विकासको लक्ष्य हासिल गर्न संघ, प्रदेश र स्थानीय तीनै तहको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौँडाका प्रमुख पूर्णप्रसाद उपाध्यायले बृहत शक्ति खानेपानी आयोजना सम्पन्न भए पश्चात् अब आठ हजार ७ सय १९ जना लाभान्वित हुने बतउनुभयो।

आयोजना प्रमुख उपाध्यायले यस आयोजना हेटौडा उपमहानगरपालिका–१६ का नागरिकलाई नियमित र भरपर्दो खानेपानी उपलब्ध गराउने महत्त्वपूर्ण माध्यम भएको र यसले जनस्वास्थ्यमा सुधार ल्याउने बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार