
तनहुँ : खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँले लिफ्ट खानेपानी आयोजनाको ५५ लाख बढी विद्युत् महसुल अनुदान दिएको छ । तनहुँ र नवलपुरका खानेपानी योजना हेर्ने यस कार्यालयले ५५ योजनाको उक्त रकम अनुदान दिएको हो ।
आर्थिक वर्ष २०८०/२०८१ को जेठ महिनादेखि आर्थिक वर्ष २०८१/०८२ को पुससम्म ५५ लाख ३८ हजार नौ सय रकम वितरण गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यस वर्षको माघ महिनादेखि वैशाखसम्मको महसुल भुक्तानी गर्ने छ भने जेठ र असार दुई महिनाको आगामी वर्षमा भुक्तानी गरिने छ ।
तनहुँमा ३८ लाख ५९ हजार सात सय र नवलपुरमा १६ लाख ७९ हजार दुई सय गरी उक्त रकम प्रदान गरिसकिएको कार्यालय प्रमुख सिनियर डिभिजन इन्जिनियर शम्भुराज खनालले जानकारी दिनुभयो ।
कार्यालय प्रमुख खनालका अनुसार साना खानेपानी उपभोक्ता समितिका लागि गत वर्ष १५ हजार रहेकोमा यस वर्ष वृद्धि गरी २५ हजार पुर्याएको छ भने ठुला उपभोक्ता समितिका लागि प्रतिशतको आधारमा भुक्तानी दिने गरिएको छ ।
लिफ्ट खानेपानी आयोजनामा विद्युत् महसुल अनुदानसम्बन्धी मापदण्ड २०७९ का आधारमा स्थान तथा अनुदान ग्राही छनोट गरी अनुदान दिइएको हो । स्थान तथा अनुदानग्राही छनोटका आधारअन्तर्गत मासिक रूपमा २५ हजारसम्मको विद्युत् खपत गर्ने अनुदान ग्राहीलाई विद्युत् महसुलको शत प्रतिशत अनुदान दिइएको हो ।
गत वर्षदेखि यस किसिमको सुविधा सुरु भएको हो । २५ हजारसम्मको विद्युत महसुलमा पुरै भुक्तानी र सो भन्दा माथिको महसुलमा प्रतिशतका दरले भुक्तानी गर्ने गरिएको छ । मासिक २५ हजारदेखि ४० हजारसम्मको महसुलमा ७५ प्रतिशत र मासिक रूपमा ४० हजारदेखि ६० हजारसम्मको विद्युत् खपत गर्ने अनुदान ग्राहीले कुल विद्युत् महसुलको ५० प्रतिशत र मासिक रूपमा ६० हजारदेखि ८० हजारसम्म विद्युत् खपत गर्ने अनुदान ग्राहीले कुल विद्युत् महसुलको २५ प्रतिशत अनुदान प्राप्त गर्छन् । यस्तै, मासिक रूपमा ८० हजारभन्दा बढीको विद्युत् खपत गर्ने योजनामा १० प्रतिशत अनुदान कार्यालयले उपलब्ध गराउने गर्दछ ।
उपभोक्ताले भुक्तानीका लागि विद्युत् महसुलको सक्कली बिल र जरिवाना नतिरेको हुनुपर्ने प्रावधान रहेको कार्यालयले जनाएको । कार्यालयका अनुसार ६-६ महिनामा उपभोक्ता समितिबाट निर्णय गरी वडा कार्यालयबाट अनुदानका सिफारिस पेस गर्नुपर्छ ।
नागरिकलाई स्वच्छ, गुणस्तरीय, सर्वसुलभ र सुरक्षित रूपमा खानेपानी सेवा पुर्याउने उद्देश्यले लिफ्ट खानेपानीमा लाग्ने महसुलमा अनुदान दिइएको हो । अधिकांश आर्थिक रूपमा विपन्न मानिसहरू गाउँका डाँडाकाँडामा बसोवास गर्दै आएको खानेपानीमा अनुदानको व्यवस्थाले उनिहरूलाई लाभ पुगेको म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।यो खबर गोरखापत्र दैनिकबाट साभार गरिएको हो।


340 पटक हेरिएको 

