सावधान ! भान्छाको चपिङ बोर्डले मृत्युको मुखमा पुर्‍याउँला

चपिङ बोर्ड : गम्भीर स्वास्थ्य समस्याको मौन सुरुवात

  वास खबर सम्बाददाता  1800 पटक हेरिएको


काठमाडौ : हामीले दिनहुँ प्रयोग गर्ने भान्छाको एउटा सामान्य वस्तु ‘चपिङ बोर्ड’ ले हामीलाई मृत्युतर्फ डोर्‍याउँदै छ भन्दा पत्यार नलाग्न सक्छ । हो, चपिङ बोर्डले तत्कालै केही असर नपुर्‍याउन सक्छ । तर कालान्तरमा दीर्घकालीन र गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

दैनिक प्लाष्टिक बाट बनेको चपिङ बोर्डमा काटिएका हरियो तरकारी, फलफूल, मासु वा माछा सँगै स-साना प्लास्टिकका कणहरू पनि हाम्रो थालमा आइपुग्छन् । हामीले स्वाद मानी मानी खाएका तीनै भोजनसँगै विषको मात्रा पनि ग्रहण गरिरहेका हुन्छौं ।

यो कुनै अनुमान होइन, अध्ययनहरुको निष्कर्ष हो । विश्व वातावरण दिवसको अवसरमा स्मार्ट वास सोलुसन्स् प्रा.लि.ले आयोजना गरेको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय रसायन शास्त्र विभागका सह-प्राध्यापक, डा. भानु न्यौपानेले ‘पानीमा माइक्रोप्लास्टिक प्रदूषण’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्यका लागि माईक्रोप्लास्टिक खतरापूर्ण रहेको औल्याउनु भएको हो ।

‘अधिकांश चपिङ बोर्डहरू प्लास्टिकबाट बनेका हुन्छन्, जुन लामो समय प्रयोग गर्दा तकारी काट्ने क्रममा साना साना प्लास्टिकका कणहरू (माइक्रोप्लास्टिक) खाना सँगै शरिरमा प्रवेश हुन्छन्’ उहाँले भन्नुभयो।


माइक्रोप्लास्टिकको प्रत्यक्ष प्रहार जनस्वास्थ्यमा

हालसालैको एक अनुसन्धानको रिपोर्ट प्रस्तुत गर्दै सहप्राध्यापक न्यौपानेले मानिसको रक्तनलीमा साना प्लास्टिक कणहरू भेटिएका र तिनीहरुमा मुुटुको पक्षघात वा मृत्यु सम्मको जोखिम बढी रहेको बताउनुभयो ।

‘मानव शरीरमा प्रवेश गरेका माइक्रोप्लास्टिकहरूले श्वासप्रश्वास प्रणाली, मानिसको प्रतिरक्षा प्रणाली, प्रजनन प्रणाली तथा पाचन प्रणालीमा प्रतिकूल असर पारेका प्रमाणहरू प्रशस्त भेटिन थालेका छन्’ उहाँले भन्नुभयो ‘बच्चाको सालनालमा पनि माइक्रोप्लास्टिक भेटिएको छ ।


माइक्रोप्लास्टिकको साम्राज्य सर्वत्र

चपिङ बोर्डबाट सुरु भएको माईक्रोप्लाष्टिकको यात्राको अन्त्य केवल हाम्रो शरीरमा मात्र सीमित छैन। जलचर प्राणीहरूले पनि माइक्रोप्लास्टिकलाई आहाराको रूपमा लिइरहेका हुन्छन्, जसले तिनीहरूको व्यवहार र जीवनचक्रमै परिवर्तन ल्याइरहेको छ।

हिमनदीबाट बग्दै आएको कुनै प्लाष्टिकको बोतल समयसँगै सूक्ष्म टुक्रामा परिणत भई फेरी हाम्रो थालमै आईपुग्ने न्यौपानेले बताउनुभयो । ‘पानीमा बग्दै बग्दै जाँदा प्लाष्टिकका सुक्ष्म कणहरु कहिले माछाको रूपमा त कहिले नुनको रूपमा हाम्रो शरिरभित्र प्रवेश गर्छ’ उहाँले भन्नुभयो ।

समाधान कहाँ बाट सुरुवात गर्ने ?

जहाँबाट हामीले माइक्रोप्लास्टिक भित्राईरहेका छौँ, त्यहीँबाट सुधारको थालनी गर्नुपर्छ । साना निर्णय पनि भविष्यको ठूलो सुरक्षा बन्न सक्छ । तसर्थ निम्न उपायहरु अपनाएर माइक्रोप्लाष्टिकको प्रवेशलाई छेकबार लगाउन सक्छौं ।

१. प्लाष्टिकको सट्टा काठ वा बाँसबाट बनेका चपिङ बोर्डको प्रयोग गर्ने ।

२. जार तथा प्लाष्टिकको बोतल प्रयोग नगर्ने, यसको सट्टा तामा तथा पित्तल वा माटोको भाँडा प्रयोग गर्ने ।

३.प्लास्टिक उत्पादन र प्रयोगलाई निरुत्साहित गर्ने ।

४.सरकार र नीति निर्माताहरूले माइक्रोप्लास्टिक नियन्त्रण सम्बन्धी कठोर नीति निर्माण गरी लागु गर्ने ।

५. वैज्ञानिक अनुसन्धान तथा जनचेतना कार्यक्रमलाई प्रोत्साहन गर्ने ।

नेपालको स्वच्छ पानीका स्रोतहरू, पारिस्थितिक प्रणाली तथा जनस्वास्थ्यमा देखिने र नदेखिने सुक्ष्म प्लास्टिक प्रदूषणले निम्त्याउने समस्याहरु र चुनौतीहरूबारे सरोकारवाला, विज्ञ तथा नागरिकहरू बीच विचार विमर्श गर्ने, सचेतना अभिवृद्धि गर्ने र प्लाष्टिक प्रदुषण नियन्त्रणको पक्षमा आवाज उठाउने उद्देश्यले आयोजित कार्यक्रममा चार वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

प्राविधिक सत्रको अध्यक्षता खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठले गर्नुभएको थियो । सहसचिव श्रेष्ठले प्लाष्टिकको बढ्दो उत्पादन र अनियन्त्रित प्रयोगका कारण बर्षातमा भलबाढी, डुबान र पहिरो जस्ता विपदको सामना गर्नु परेको बताउनुभयो ।


‘प्लाष्टिक एक ठाउँमा जम्मा भए पछि पानीको बहावलाई रोक्छ, ढलको मंगाल जाम हुन्छ र ब्याक फ्लो हुन्छ, जसले गर्दा बाढी, डुबान जस्ता विपदको सामना गर्नु परिहेको छ’ उहाँले भन्नुभयो।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका सह-प्राध्यापक डा. इन्दिरा पराजुलीले वायुमण्डलमा माइक्रोप्लास्टिक प्रदुषण, कानुनी तथा नीतिगत व्यवस्था र नीति निर्माण तह र नागरिक स्तरबाट गर्नुपर्ने कामहरुका बारेमा प्रस्तुतीकरण गर्नुभयो ।

यस्तै काठमाडौं उपत्यका खानेपानी लिमिटेडका म्यानेजर डा.डोल प्रसाद चापाागाईले नेपालमा प्लाष्टिकका कारण नाली तथा ढलमा पर्ने समस्या र समाधानका उपायहरुबारे प्रस्तुतीकरण गर्नुभयो भने क्रियशन नेपालका उज्ज्वल उपाध्यायले नदीहरूमा प्लास्टिक फोहोरको वहाव रोक्ने उपाय र नदीमा जम्मा भएको बोतलहरुलाई प्रशोधन गरी पुनः प्रयोग भैरहेको बिषयमा प्रस्तुतीकरण गर्नुभयो ।

एस.एन.भी.नेपाल, युके इन्टरनेसनल डेभेलप्मेन्ट र क्रियशन नेपालको वित्तिय व्यवस्थापनमा स्मार्ट वास सोलुसन्सले आयोजना गरेको कार्यक्रममा पूर्व वातावरण, विज्ञान तथा प्रविधिमन्त्री इन्जिनियर गणेश शाहको प्रमुख आतिथ्य एवं स्मार्ट वास सोलुसन्सका अध्यक्ष रामदीप शाहको अध्यक्षतामा सम्पन्न भयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार