
कैलाली : डुबान र बाढीले धनगढी उपमहानगरपालिकाले सडक निर्माणका लागि फालेको फोहोर स्थानीयको घर र खेतमा गएपछि स्थानीय हैरान भएका छन् । धनगढी उपमहानगरपालिका ६ को जाली गाउँमा सडक निर्माण गर्ने भन्दै नगरपालिका भरिको फोहर थुपारेर राखेको थियो ।
एकातिर कच्ची सडकसँगै पानी घरमा पसेर समस्या भएको छ भने अर्कोतिर सडक निर्माणको लागि फालेको फोहर घर आँगनमा र धानखेतमा पसेर ठुलो समस्या भएको स्थानीयहरूले बताएका छन् ।
धनगढी उपमहानगरपालिका ६ का वडा अध्यक्ष भागिराम चाैधरीले सडक र नालिको छेउमा १५ फिट गहिरो ठाउँ भएकाले त्यसलाई पुरेर बाटो बनाउन फोहोर थुपारेको बताउनुभयो । जम्मा गरेको फोहोर बगाएर स्थानीयको ५ बिघा जमिन र घरमा क्षति पुगेको छ । उहाँले नगरपालिकाकाले सरसफाइ गर्नलाई आवश्यक जनशक्ति नभएर ढिलो भएको र भोलिसम्म सबै सफा गरिदिने बताउनुभयो ।
स्थानीय हीरालाल चौधरीका अनुसार नगरपालिकाले तीन वर्ष अगाडि स्थानीयहरूलाई सडक निर्माणको सपना देखाएर नगरपालिकाभरिको फोहोर ल्याएर थुपारेको भए पनि अहिलेसम्म सडक निर्माण नभएको बताउनुभयो । उहाँले सडक निर्माण त परको कुरा सही ढङ्गले फोहोर पनि व्यवस्थापन नगर्दा आफूहरुलाई हरेक बर्खायाममा ठुलो समस्या हुने गरेको बताउनुभयो ।
अर्का स्थानीय राजेन्द्र चौधरीले आफ्नो खेतमा पानीसँगै लिएर आएको फोहोरले दुःख दिइरहेको यस बारेमा पटकपटक स्थानीय जनप्रतिनिधिलाई समेत जानकारी गराउँदा कुनै चासो नदिएको आरोप लगाउनुभयो ।
वडाध्यक्षलगायतका जनप्रतिनिधिहरूलाई पटकपटक फोन गरेर फोहोर सही तरिकाले व्यवस्थापन गरिदिनुपर्यो भनिरहँदा समेत कुनै सुनवाइ नभएको स्थानीयहरूले गुनासो गरेका छन् । बर्खामासको समय भएकाले फोहोरले गर्दा स्थानीयहरूलाई विभिन्न सङ्क्रमणकालीन रोगहरूले समस्या निम्ताउनेसँगै लामखुट्टे पनि बढी सक्रिय हुने भएकाले थप चुनौती भएको स्थानीय तोयानाथ जोशीले बताउनुभयो ।
त्यस्तै, स्थानीय पशुराम चौधरीले एकातिर डुबानको समस्या अर्कोतिर धनगढी उपमाहानगरपालिकाकाले थुपारेको फोहोर बाढीले बगाएर खेतबारीसँगै घरमा बसेकोले टोल नै दुर्गन्धित भएको खबर गोरखापत्रले प्रकाशन गरेको छ। अहिलेसम्म नगरपालिकाका यो विषयमा जानकारी गराउँदा पनि चासो समेत नभएको उहाँको भनाइ छ ।


337 पटक हेरिएको 

