
नेपाल लगायत दक्षिण एसियाका थुप्रै देशहरूमा पानीको स्रोतहरूमा आर्सेनिक पाइनु अहिले गम्भीर सार्वजनिक स्वास्थ्य समस्या बन्दै गएको छ। विशेष गरी तराई क्षेत्रमा भूगर्भीय कारणले आर्सेनिकको मात्रा पानीमा अत्यधिक पाइएको छ।
तर, अधिकांशले अझै बुझ्न सकेका छैनन् कि पानीमा घुलनशील आर्सेनिक के हो र यसले हाम्रो स्वास्थ्यमा कस्तो असर पार्छ।
आर्सेनिक भनेको के हो ?
आर्सेनिक (Arsenic) एक प्राकृतिक रूपमा पाइने धातुजन्य तत्व हो जुन माटो, ढुंगा, खनिज र पानीमा पनि सानो मात्रामा पाइन्छ। जुन भूगर्भीय तहबाट पानीमा घुलिएर आउँछ। जब मानिसहरू यस्तो प्रदूषित पानी पिउँछन्, आर्सेनिक शरीरमा प्रवेश गर्छ र विस्तारै असर गर्न थाल्छ।
नेपालको केही भूभागमा विशेषगरी तराई क्षेत्रका बर्दिया, नवलपरासी, रूपन्देही, कैलाली आदिको पानीमा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ ले तोकेको अधिकतम सघनन् सीमा ०.०५ मिलिग्राम प्रति लिटर भन्दा धेरै आर्सेनिक पाइएका प्रमाण छन्।
मानव स्वास्थ्यमा यसले पार्ने असर
आर्सेनिकको असर तुरुन्त देखिँदैन, तर दीर्घकालीन सेवनले शरीरमा गम्भीर समस्या निम्त्याउन सक्छ। मुख्य असरहरू यस्ता छन्स्
१. छालाको समस्या
हातखुट्टाको छालामा कालोरखैरो दाग देखिनु
चिलाउने र बोसो जम्मा हुने
छालाको क्यान्सरसम्मको खतरा
२. आन्तरिक अंगहरूमा असर
कलेजो, मिर्गौला र फोक्सोलाई क्षति पुर्याउने
पाचन प्रणालीमा समस्या उत्पन्न गर्ने
३. क्यान्सर
दीर्घकालीन आर्सेनिक सेवनले छाला, फोक्सो, मृगौलाको क्यान्सर हुने सम्भावना धेरै हुन्छ
४. बच्चाको शारीरिक र मानसिक विकासमा असर
गर्भवती महिलाले आर्सेनिकयुक्त पानी सेवन गर्दा जन्मिने शिशुको तौल कम हुनु, IQ कम हुनुजस्ता समस्याहरू देखिएको छ
५. अन्य दीर्घ रोगहरू
उच्च रक्तचाप
मधुमेह
नसा तथा स्नायुसम्बन्धी समस्या
कसरी बच्ने ?
पानी परीक्षण गर्नुहोस् : आफ्नो पिउने पानीको स्रोतमा आर्सेनिकको मात्रा परीक्षण गराउनुहोस्।
वैकल्पिक स्रोत अपनाउनुहोस् : यदि आर्सेनिक भेटियो भने, सुरक्षित पानीका स्रोतहरू (जस्तै वर्षा पानी, सार्वजनिक धारा, फिल्टर प्रणाली) प्रयोग गर्नुहोस्।
आर्सेनिक हटाउने प्रविधि प्रयोग गर्नुहोस : बजारमा उपलब्ध Activated Alumina Filters, Iron-coated sand filters जस्ता प्रविधिहरू आर्सेनिक हटाउन प्रयोग गर्न सकिन्छ।
सामुदायिक जागरूकता बढाउनुहोस् : घर, विद्यालय, स्वास्थ्य चौकीहरूमा आर्सेनिकबारे जानकारी फैलाउनु आवश्यक छ।
त्यसैले पानीमा घुलनशील आर्सेनिक देखिने छैन, स्वाद वा गन्धबाट थाहा लाग्दैन, तर यसको असर दीर्घकालीन र घातक हुन्छ। त्यसैले, हामी सबैले सुरक्षित पानीको अर्थ बुझ्न र आफ्नो स्रोत परीक्षण गर्न सुरु गर्नु आवश्यक छ। सरकारले पनि व्यापक परीक्षण र सार्वजनिक जानकारीको व्यवस्था गर्न जरुरी छ। आर्सेनिकको जोखिमबाट बच्न, सचेतना, परीक्षण र प्रविधिको प्रयोग अनिवार्य भइसकेको छ।


547 पटक हेरिएको 

