६० बर्षपछि पुग्यो बल्ल पाइप प्रणालीको खानेपानी

  वास खबर सम्बाददाता  324 पटक हेरिएको
🔗
12
Shares


बाजुरा : बाजुराको पूर्वीत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका-६ धिमको झिनीका स्थानीयबासीले ६० वर्षपछि बल्ल खानेपानी खान पाएका छन् । यहाँका स्थानीयले झिनीमा बसोबास गर्दै आएको झण्डै साठी वर्ष भयो । पुस्तौंदेखि अहिलेसम्म उनीहरु त्यहाँ रहेका खोला र कुवाको धमिलो पानी बाध्य हुँदै आएका थिए ।

हिमाली गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/८२ मा यहाँ स्थानीयलाई सफा र स्वच्छ पानी खुवाउने गरी झण्डै १४ लाख रकम विनियोजन गरेसँगै बल्ल यहाँका स्थानीयबासीहरुले अहिले धाराको खानेपानी खान पाएका हुन् ।

झिनीबासी यहाँ हिउँद वर्खामै पुशपालनका लागि बसोबास गर्ने गर्दछन् । यहाँ नजिक पानी नहुँदा उनीहरु तल धिमको गाउँ देखि दुई चार घण्टा पैदल हिडेर पानीको जोहो गर्दै आएको हिमाली गाउँपालिका -६ धिमकी जुनु रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “खानेपानी नहुँदा कुवा अथवा आकाशे पानी ट्याङ्कीमा जम्मा गरेर खाने गरेका थियौं । पानी नपरेको दिनमा गाउँ देखि दुई चार घण्टा हिडेर पिठ्युँमा जर्किन बोकेर यहाँ पानी ल्याउने गर्थ्यो। ”

यो बस्तीको यस्तो खालको समस्यालाई देखेर गाउँपालिकाले झिनीमा खानेपानीको व्यवस्था गरिदिएसँगै यहाँका स्थानीयलाई बल्ल अहिले खानेपानी खान पाएको बताउनुभयो ।‎

यतिबेला यहाँका स्थानीय सरकारले झिनीमा खानेपानीका धारा निर्माण गरिदिएपछि यहाँका स्थानीय निकै हर्षित भएको झिनी खानेपानी उपभोक्ता समितिकिा अध्यक्ष महोन रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ बसोबास गर्न लागेको झण्डै साठी वर्षपछि गाउँमा खानेपानी पुगेपछि अहिले यहाँका स्थानीयको जीवनशैलीमा समेत परिवर्तन भएको छ ।”

गाउँपालिकाले झण्डै १४ लाख रुपियाँमा यहाँको उपरिकोटदेखि झिनीसम्म ६ किलोमिटर दूरीबाट गाउँमा खानेपानी पुगाएको झिनी खानेपानी निर्माण योजना सम्पन्न गरिएको अध्यक्ष रावतले बताउनुभयो ।

भिनीमा झण्डै साठी सत्तरी घरपरिवारको बसोबास छ । उनीहरु सधै त्यो ठाउँमा गाई भैसी भेडाबाख्रा पालन गर्ने गर्दछन् । यहाँ पुस्तौंदेखि अहिलेसम्म खानेपानीको निकै आभाव थियो । त्यो समस्यालाई समाधान गर्ने गरी गत वर्षमा पालिकाले रकम विनियोजन गरेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गत वैशाखमा खानेपानीको काम सुरु भएको हो । अहिले असारमा त्यो काम सम्पन्न भएको छ ।” अहिले खानेपानी निर्माणको काम समयमै सम्पन्न भएपछि यहाँका स्थानीयको साठी वर्ष देखिको खानेपानीको समस्या हटेको अध्यक्ष मल्लले बताउनु भएको खबर गोरखापत्रले प्रकाशन गरेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार