खानेपानी विभागको वित्तिय प्रगति करिब ८० प्रतिशत, सबैभन्दा उच्च म्याग्दीको

  वास खबर सम्बाददाता  934 पटक हेरिएको


काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागले चालु आर्थिक बर्षमा करिब ८० प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । विभागले अद्यावधिक गरेको असार २५ सम्मको प्रगति विवरण अनुसार करिब ८० प्रतिशत वित्तिय प्रगति हासिल गरेको देखिएको छ ।

प्रगति विवरण अनुसार खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतको देशभरका २० वटा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय मध्ये म्याग्दी, इलाम र जुम्लाले उच्च प्रगति हासिल गरेका छन् भने संघीय कार्यालय जनकपुर भने सबैभन्दा कम प्रगति देखाउँदै सूचीको अन्त्यमा रहेको छ।

प्रगति विवरण अनुसार म्याग्दीले सबैभन्दा उच्च ९५.१४ प्रतिशत उपलब्धि हासिल गरेको छ। त्यसपछि इलामले ९३.३० प्रतिशत र जुम्लाले ९१.३६ प्रतिशत प्रगति गरेका छन्।

यस्तै संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय रामेछापले ९१.२३ प्रतिशत र अर्घाखाँचीले ९०.५३ प्रतिशत प्रगति हासिल गरेका छन्।

८० प्रतिशत भन्दा माथि प्रगति गर्ने अन्य कार्यालयहरूमा नेपालगञ्ज, बिराटनगर, खोटाङ, पोखरा, कञ्चनपुर र वीरगञ्ज रहेका छन्। धनकुटा, बुटवल र हेटौंडाको प्रगति क्रमशः ७७.५५ प्रतिशत, ७६.६१ प्रतिशत र ७२.५२ प्रतिशत रहेको छ।

तर, केही कार्यालयहरूको प्रगति कम देखिएको छ। कैलाली, लमजुङ, भक्तपुर, चितवन, सुर्खेत र जनकपुरले ७० प्रतिशतभन्दा कम प्रगति गरेका छन्। विशेष गरी जनकपुरले ४६.३९ प्रतिशत मात्र प्रगति गर्न सकेको छ, जुन सबैभन्दा न्यून हो।

प्रगतिको यो फरक विभिन्न प्रशासनिक कारण, भौगोलिक अवस्थिति, स्रोत(साधनको अपर्याप्त तथा कर्मचारी हेरफेर लगायत कारण रहेको बताईएको छ । माथिल्लो सूचीमा रहेका कार्यालयहरूले योजना कार्यान्वयन, अनुगमन तथा रिपोर्टिङमा तुलनात्मक रूपमा प्रभावकारी काम गरेको देखिन्छ।

अघिल्ला बर्षहरुको तुलनामा चालु आर्थिक बर्ष खानेपानी तथा सरसफाइ क्षेत्रले आशातित सफलता हासिल गर्न सकेको आयोजना प्रमुखहरु बताउँछन् । विगतमा जस्तो रकमान्तर, भेरिएसन, म्याद थप जस्ता कामको लागि असार महिनामा अर्थमन्त्रालय धाइरहन नपरेको आयोजना प्रमुखहरुले बताए ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.रामकुमार श्रेष्ठले यसै बर्ष विभाग अन्तर्गतका कार्यालयहरु स्थायी भएको र ११ अर्ब ६३ करोड बराबरको ८१ वटा योजनाहरुको स्रोत सहमति प्राप्त भएको बताउनुभयो । महानिर्देशक श्रेष्ठले विश्व बैंकको सहयोगमा भेरी पम्पिङ योजनाको सम्झौता यही आर्थिक बर्षमा सम्पन्न भएको, एसियाली विकास बैंकको Integrated Project को मिसन चलिरहेको र आगामी २ महिनाभित्र योजनाहरुको ठेक्का आव्हान हुने तयारी रहेको बताउनुभयो ।

उहाँले चालु आर्थिक बर्षमा खानेपानी र सरसफाइ क्षेत्रमा उच्च प्रगति हासिल गर्न गराउन सम्बद्ध सबै पक्षप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा उहाँले भन्नुभएको छ ‘खानेपानी विभागको यस आर्थिक बर्ष २०८१/०८२ को समग्र वित्तिय प्रगति करिब ८० प्रतिशत पुगेको छ । यस क्रममा सहयोग गर्नुहुने खानेपानी मन्त्रालय परिवार, अर्थ मन्त्रालय, विभागको टिम, आयोजना कार्यालय टिम प्रति विभागको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्दछु।’

कुन कार्यालयको कति प्रगति ?

क्रम संख्या कार्यालय प्रगति (%)
म्याग्दी ९५.१४%
इलाम ९३.३०%
जुम्ला ९१.३६%
रामेछाप ९१.२३%
अर्घाखाँची ९०.५३%
नेपालगञ्ज ८८.७२%
बिराटनगर ८८.१९%
खोटाङ ८६.०८%
पोखरा ८५.०८%
१० कञ्चनपुर ८४.८४%
११ वीरगञ्ज ८४.२२%
१२ धनकुटा ७७.५५%
१३ बुटवल ७६.६१%
१४ हेटौँडा ७२.५२%
१५                             कैलाली   ६९.८६%
१६                         लमजुङ ६८.३४%
१७ भक्तपुर ६८.१९%
१८ चितवन ६४.००%
१९ सुर्खेत ५८.१८%
२० जनकपुर ४६.३९%


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार